भदौ ४ छल्न पशुपति शमशेर राणा सर्वोच्चमा
काठमाडौं, ३ भदौ । केन्द्रीय सदस्य सनाखत गर्न निर्वाचन आयोगले दिएको भाका छल्न राप्रपा प्रजातान्त्रिक नेता पशुपति शमशेर राणा सर्वोच्च अदालत पुगेका छन्। राणाले आफ्नो दल दर्ता गर्न निर्वाचन आयोगलाई आदेश माग गर्दै अदालतमा रिट हालेका छन्। रिटमा आफ्ना केन्द्रीय सदस्यलाई कमल थापा पक्षले हेटौँडामा लुकाएको आरोप उनले लगाएका छन्।
राप्रपा फुटाएर नयाँ पार्टी गठन गरेका राणाले आफूसँग ४० प्रतिशत केन्द्रीय सदस्य भएको दावी गरेका थिए। आयोगले दल दर्ताका निम्ति केन्द्रीय सदस्य सनाखत गर्न दोस्रो पटक भदौ ४ गतेको म्याद तोकेको छ। राणा भने ४० प्रतिशत संख्या नपुगेपछि अप्ठेरोमा छन्।
यसअघि राणालाई आयोगले साउन २६ गते आइतबार हस्ताक्षर सनाखत गर्न निर्देशन दिएको थियो।
राणाले समय थप गर्न माग गरेपछि आयोगले १० दिन दिएको थियो। राणालाई पार्टी फुटाउन साथ दिने घोषणा गरेका केही केन्द्रीय सदस्य अध्यक्ष थापाको पक्षमा लागेपछि उनी चेपुवामा परेका हुन्। थापा ६० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यका साथ पाँच दिनदेखि हेटौँडामा भइरहेको पार्टी केन्द्रीय समिति बैठकमा छन्।