निर्वाचन आयोगसँग १० दिनको समय माग
काठमाडौं, २९ साउन । राप्रपा प्रजातान्त्रिकको मान्यता पाउन लागी दल दर्ता गर्न निवाृचन आयोग पुगेका पशुपति शमशेर राणा आयोग समक्ष १० दिनको समय माग गरेका छन् । केन्द्रीय सदस्य र सांसद सनाखत गराउनका लागी उनले यतिको समय माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको आयोगले बताएको छ ।
निर्वाचन आयोगले आइतबार ५ बजेभित्र सांसद तथा केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित उपस्थित गराएर ४० प्रतिशत देखाउन शुक्रबार राप्रपा प्रजातान्त्रिकको नाममा पत्र लेखेको थियो । तर, राणाले पत्र आजमात्रै आफूले पाएको र निर्वाचन आयोगमै सबैलाई उपस्थित गराएर सनाखत गराउनै पर्ने भए समय लाग्ने हुँदा १० दिनको समयसीमा थप गर्न माग गर्दै आजै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
राणाको पत्रमा यसअघि नै केन्द्रीय सदस्य र सांसदले सनाखत गराइसकेकाले पुनः सनाखत गराइरहनु अव्यवहारिक हुने पनि दाबी गरिएको आयोगले जनाएको छ । राणाले निर्वाचन आयोगमा बुझाएको पत्रमा यसअघि नै आयोगको रोहबरमा ६१ जना केन्द्रीय सदस्यकोसनाखत भइसकेको र विदेशमा रहेका ३ जनाको पत्रसहित जम्मा ६४ जना केन्द्रीय सदस्यको दल दर्ता प्रयोजनका लागि सहमतिपत्र पेश भइसकेकाले त्यसैलाई आधिकारिकता प्रदान गरी दल दर्ता गरिनुपर्ने माग गरिएको राणाले बताए ।
उक्त संख्या दल दर्तासम्बन्धी ऐनको ३३९२० ले तोकेको ४० प्रतिशत भन्दा बढी भएकाले सोहि सनाखतलाई वैधानिक सनाखत कायम गरी आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय समेतलाई ध्यानमा राखी प्रक्रिया अगाडी बढाइनुपर्ने राणाको भनाई छ ।