आयल निगमले जग्गा खरिद गर्दा अनियमितता भएको लेखा समितिको ठहर
काठमाडौं, २० साउन । संसदीय समितिले नेपाल आयल निगमले जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिको आज बसेको बैठकले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
निगमले विभिन्न ७ प्रदेशमा तेल भण्डारणका लागि किनेको भनिएको जग्गा खरिद प्रक्रियाको अध्ययन अनुसन्धान गर्दा झापा, चितवन र भैरहवामा सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन २०३४ लाई मिचेको ठहर समितिले गरेको छ ।
निगमले झापा, सर्लाही, चितवन र भैरहवामा खरिद गर्दा विधि र प्रक्रिया मिचेको लेखाको ठहर छ । जग्गा प्राप्ती ऐन २०३४ बमोजिम जग्गा प्राप्ती गर्नुपर्नेमा बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेर विधि र प्रक्रिया मिचिएको लेखा समितिको भनाई छ ।
साथै निगमले वास्तविक जग्गाधनीहरुसँग जग्गा खरिद नगरी दलाल मार्फत बोलपत्रको माध्यमबाट खरिद गर्दा महंगो पर्न गएको बताएको छ ।
नेपाल आयल निगमले सात प्रदेशमा इन्धन भण्डारणका लागि भन्दै किनेको जग्गामा व्यापक आर्थिक चलखेल भएको भन्ने समाचार आएपछि यो विषय व्यवस्थापिका संसद बैठक देखि त्यस मातहतका समितिको चासोको विषय बनेको हो ।