योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त
काठमाडौं, १९ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिएका थिए ।
यसअघि उनी आयोगको सदस्य थिए । कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल सदस्य बनेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ ।
अष्ट्रेलियाको अष्ट्रेलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।