लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जित्यो
एजेन्सी, १९ साउन । लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले जर्मनीमा भएको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई टाइब्रेकरमा हराउँदै स्पेनिस ला लिगा क्लब एथ्लेटिकोले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । निर्धारित समयका लिभरपुलका लागि रोबर्टो फिरमिनो र एथ्लेटिकोका लागि केइडी बारेले गोल गरे ।
टाइब्रेकरमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको प्रहार गोलरक्षक मिगुएल एन्जल मोयाले बचाएका पछि एथ्लेटिकोले उपाधि जितेको हो ।
प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलमा नापालीले बायर्न म्युनिखलाई २–०ले पराजित गर्यो ।
आउडी कपको यो पाँचौं संस्करण हो । विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो । यसलाई प्रतियोगिता भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिने गरिएको छ ।