भरतपुर १९ को पुनः मतदान साउन २० मा
काठमाडौं, १८ साउन । झण्डै २ महिना लामो विवाद टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नं. १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा हिजो अपराह्न भएको सर्वदलीय बैठकपछि मतदानको मिति तय गरिएको हो ।
पर्सी हुने मतदानका लागि आजदेखि तयारी सुरु भएको छ ।चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको आन्तरीक तयारीमा जुटेका छन् । उम्मेदवारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् ।
मतदानको मिति तय हुँदै गर्दा उता राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् । पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेका छन् ।
२७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।
यसैगरी, वडा नम्वर १९ मा ३ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र रहनेछ । जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरी गरी ३ वटा मतदानस्थल रहेका छन् ।
जीवनज्योति राप्रावि केन्द्रमा १ हजार ३ सय मतदाता छन् भने, शारदानगरमा १ हजार २ सय ४१ र किरणगञ्जमा १ हजार २ सय ४३ मतदाता रहेका छन् । यसअघि वडा नः १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नः १९ मा ३ हजार ७९७ मतदाता छन् ।