भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि अमेरिकाको प्रतिबन्ध
एजेन्सी, १७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् ।
भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो । प्रदर्शनको क्रममा कम्तिमा १० जनाको मृत्यु भएको थियो । राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताए ।
भेनेजुएलाको नयाँ संविधानसभालाई संविधान पुनर्लेखन गर्ने अधिकार छ । यस्तै विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रियसभालाई विघटनको घोषणा गर्ने अधिकार पनि संविधानसभासँग छ । आफूहरुले बहिष्कार गरेको संविधानसभा चुनावमा ८८ प्रतिशत मतदाता सहभागी नभएको विपक्षी गठबन्धनको दाबी छ । तर भेनेजुएलाको निर्वाचन आयोगले भने ४१.५ प्रतिशत मत खसेको दाबी गरेको छ ।
विपक्षी गठबन्धनले आफूहरुले संविधानसभालाई नमान्ने बताएका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ ।