प्रमुख दलको आँखा ‘प्रदेश नम्बर २’ मा

भक्तपुर न्यूज

१६ साउन २०७४ ७:१९

प्रमुख दलको आँखा ‘प्रदेश नम्बर २’ मा

काठमाडौं, १६ साउन । प्रमुख तीन दलसहित सबैजसो राजनीतिक दलहरु प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । पहिलो र दोस्रो चरणमा ६ वटा प्रदेशमा भएको स्थानीय तह निर्वाचनमा दलहरुले पाएको नतिजा र अनुभवको समीक्षा गर्दै प्रदेश नम्बर २ को नतिजा आफ्नो पक्षमा पार्न दलहरु नयाँ रणनीतिका साथ चुनावी तयारीमा जुटेका हुन् ।

तेस्रो चरणमा असोज २ गते २ नम्बर प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिराहा र धनुषाका १२७ स्थानीय तहमा निर्वाचन हुँदैछ । यसअघि प्रदेश नम्बर १, ३,४,५,६ र ७ मा स्थानीय तह निर्वाचन भैसकेको छ । जसमध्ये भरतपुर महानगरपालिकाबाहेक सबैको मतपरिणाम समेत आइसकेको छ ।

भरतपुर महानगरपालिका वडा नं १९ मतपत्र च्यातिएपछि परेको मुद्दामा सर्वोच्च अदालतले पुन सो वडामा मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिसकेको छ । भरतपुरको १९ नम्बर वडामा मुख्य निर्वाचन अधिकृतलाई चुनावको मिति तोक्ने अधिकार यसअघि नै प्रत्यायोजन गरिसकेको छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले २ नम्बर प्रदेशमा पनि पहिलो पार्टी बन्ने रणनीतिकासाथ चुनावमा होमिने बताइरहेको छ । उसले त्यहि रणनीति बनाउन सोमबार स्थायी समिति बैठक नै बोलाएको छ । यसअघि एमालेले शीर्ष नेता तराईका जिल्लामा चुनाव प्रचारप्रसार अभियानमा खटिने जनाइसकेको छ ।

पोखरेलको नेतृत्वमा चुनावी मोर्चा

पहिलो र दोस्रो निर्वाचनमा धेरै तह जितेर पहिलो पार्टी बनेको एमालेले तेस्रो चरणमा हुने निर्वाचनमा पनि पहिलो बन्ने दावी गर्दै आएको छ । कांग्रेसको बाहुल्यता भनेर चिनिदै आएको २ नम्बर प्रदेशको चुनावी मोर्चाको नेतृत्व एमालेले महासचिव ईश्वर पोखरेललाई दिइसकेको छ । एमालेले सवै पदाधिकारीहरुलाई जिल्ला नै तोकेर २ नम्बर प्रदेशका जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि गर्न खटाइसकेको छ । जसमा महासचिव पोखरेलले महोत्तरीको कमाण्ड सम्हाल्नेछन् भने उपमहासचिव विष्णु पौडेल र घनश्याम भुषालले बारा र रौतहट तथा सचिव पृथ्वी सुव्वा गुरुङले पर्सा, प्रदीप ज्ञवालीलाई सिरहा, भीम आचार्यलाई सप्तरी, गोकर्ण विष्टलाई सर्लाही र योगेश भटराईलाई धनुषा खटाउने एमालेको तयारी छ । एमालेले साउनभर निर्वाचन हुने जिल्लामा बस्तुगत स्थिति र तालमेलबारे अध्ययन गरेर भदौबाट निर्वाचन लक्षित कार्यक्रम गर्ने जनाएको छ । एमालेले २ नम्बर प्रदेशमा कांगे्रसबाहेकका दलसँग चुनावी तालमेल गर्नसक्ने बताउँदै आएको छ ।

कांग्रेसको एक टोली मधेसमै
अवको स्थानीय तह निर्वाचनमा नेकपा एमाले भन्दा एक स्थान भएपनि बढि जित्ने अभियानमा रहेको नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै पार्टीका नेताहरुलाई चुनावी अभियानमा खटाउने निर्णय गरिसकेको छ । कांग्रेसले साउन १९ गते जनकपुरमा बिशेष भेला राखेको छ । सो भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै रामचन्द्र पोडेल नेतृत्वको निर्वाचन परिचालन कमिटि अन्तर्गतको रमेश लेखक नेतृत्वको प्रचारप्रचार उपसमितिको टोली पनि अहिले २ नम्बर प्रदेशका जिल्लामा पुगेर चुनावी तयारी र अपनाउनुपर्ने सावधानीका बारेमा अध्ययन गरिरहेको छ । सो टोलीले गत साउन १४ गते नै जनकपुरमा पुगेर आठै जिल्लाका आफ्ना पार्टीका जिल्लासभापतिहरुसँग छलफल गरिसकेको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले बताए । लेखक नेतृत्वको टोली काठमाडौ फर्कैलगत्तै कांग्रेसको अर्को टोली २ नम्बर प्रदेशमा खटिने कांग्रेस केन्द्रीय कार्यलयका प्रकाश शर्माले बताए । कांग्रेसले यो प्रदेशमा एमालेबाहेकका शक्तिसँग चुनावी तालमेल गर्नसक्ने सो दलका नेताहरुले बताउँदै आएका छन् ।

माओवादीको जनकपुरमा प्रशिक्षण
त्यस्तै एमाले र कांग्रेसको तुलनामा पहिलो र दोस्रो स्थानीय निर्वाचनमा कम मत र कम स्थानीय तह जितेको माओवादी केन्द्र पनि आक्रामक शैलीमा २ नम्बर प्रदेशमा चुनाव जित्ने अभियान अन्र्तगत सोमबारबाटै लागिसकेको छ । सो पार्टीले आज सोमबार २ नम्बर प्रदेशको चुनावी तयारीस्वरुप जनकपुरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्षस्थ नेता सोमबार जनकपुर पुगिसकेका छन् । जानकी वाटीकामा दिउँसोबाट सुरु हुने प्रशिक्षणमा ८ जिल्लाबाट ६ सयजना अगुवा कार्यकर्ता सहभागी हुने माओवादीले जनाएको छ । अध्यक्ष दाहालकै नेतृत्वमा २ नम्बर प्रदेशमा चुनावी अभियान चलाउने माओवादीले जनाएको छ । जनकपुरपछि अन्य जिल्लामा पनि प्रशिक्षण र भेलालगायतका कार्यक्रम निरन्तर गर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

राजपा अझै अन्यौलमा
मधेस केन्द्रीत दल राजपाले भने अझैसम्म असोज २ मा हुने स्थानीय तह निर्वाचनमा सहभागि हुने या नहुने भन्ने निर्णय गरिसकेको छैन । उसले यसअघि सरकारसँग राखेका माग पुरा नगरेको भन्दै स्थानीय तह निर्वाचनमा सहभागि हुनबाट रोकिएको गुनासो गरिरहेको छ । यद्यपी सरकारले राजपाका केही माग पुरा गरेको र केही प्रकृयामा रहेकाले राजपा निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै आएको छ । पछिल्लो समय राजपाका नेताहरुले संविधान संशोधन प्रस्ताव संसदको प्रकृयामा लैजान माग गर्दै आएको छ ।

राजपाका नेता महेन्द्र राययादवले संविधान संशोधन मतदानमा लैजादा आउने परिणाम स्वीकार्न तयार रहेको बताइसकेका छन् । यद्यपी राजपाले यसबारे औपचारिक निर्णय भने गरि नसकेको नेताहरुले बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *