भलिबल संघले गर्यो पूर्व प्रधानमन्त्री दाहाललाई सम्मान
एजेन्सी, १५ साउन । नेपाल भलिबल संघका पदाधिकारीले आज पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ । आज बिहान दाहाल निवासमै पुगेर एनभिएका अध्यक्ष मनोरन्जन रमन शर्माले लगायतले दाहाललाई सम्मान पत्र प्रदान गरेको हो ।
अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताए ।
भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको दाहालले बताए ।
सो अवसरमा पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णीम काल भएको भन्दै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताए।