न्यूजिल्याण्डमा पहिलोपटक घन्कियो नेपथ्य
एजेन्सी, १४ साउन । नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा आफूलाई प्रस्तुत गरेको छ । अनौठो प्राणी किवीको घर अर्थात् यो प्रशान्तमहासागरको सामुद्रिक टापुमा बसोबास गर्दै आएका नेपालीहरुको निम्ति यस किसिमको यो पहिलो अनुभव थियो ।
सर्वाधिक ब्यस्त सहर अकल्याण्डस्थित स्काइ सिटी थिएटरमा नेपाली लोक–रक भाका सुन्न आएका स्रोता दर्शकले कार्यक्रमपछि स्वदेशको स्वाद बोकेर ल्याइदिएकामा ब्याण्डलाई धन्यवाद दिए । ‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै यहाँ एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ आयोजक समूहका राजमहर्जनले भने, नेपथ्यले खोलेको बाटोले अब भावी दिनमा अन्य समूह र कलाकारका निम्ति पनि यो नयाँ गन्तब्य बन्न पुगेको छ । असाध्यै थोरै नेपालीहरुको बसोबास रहेता पनि जे जति दर्शकहरु कन्सर्ट हेर्नका निम्ति भेला भए, त्यसले नेपथ्यले जोड्दै आएको नेपालीहरु बीच एकताको प्रदर्शन पनि गरेको महर्जनको भनाइ थियो ।
अकल्याण्डको यो प्रस्तुतिसँगै नेपथ्यले यस वर्ष सुरु गरेको पृथ्वीकै दक्षिणी गोलाद्र्धको सांगीतिक यात्रा पनि सम्पन्न भएको छ । यस भेगमा पहिलो कार्यक्रम छिमेकी अष्ट्रेलियाको मेलबर्न सहरबाट भएको थियो । त्यसपछि एडिलेड र सिड्नीको भब्यशो सम्पन्न गरेर ब्याण्ड न्यूजिल्याण्डतर्फ आएको थियो । ‘यसपाला हाम्रो स्थापनाको रजतवर्ष मनाउने क्रममा विदेशको पहिलो श्रृंखलावद्ध कार्यक्रम यसरी सफलताका साथ सम्पन्न भएकामा म असाध्यै खुशी छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने । टोली अब स्वदेश फर्कने जानकारीसहित गुरुङले नेपाल पुग्ने बित्तिकै नयाँगीत रिलिज गर्ने तयारीमा रहेको रहस्योद्घाटन समेत गरेका छन् ।
मुलुककै सर्वाधिक जनसंख्या ओगट्ने अकल्याण्ड सहरमा नेपालीहरु भने अन्दाजी पाँचहजारको संख्यामा रहेको अनुमान छ । अर्को सहर क्राइस्ट चर्चमा पनि उल्लेख्य संख्यामा नेपालीहरु बसोबास गर्दै आएका छन् । यसरी पर आइपुगेका नेपालीहरुलाई यहाँको न्यूजिल्याण्डेली समाजसँग जोड्ने सबैभन्दा बलियो सुत्र भने सर एडमन्ड हिलारी नै हुन् । सगरमाथाको पहिलो आरोहण गर्ने र बाँचुन्जेल खुम्बु क्षेत्रको विकासमा आफूलाई समर्पित गर्ने हिलारीका कारण यहाँ दुवै समाजबीच हार्दिकताको सम्बन्ध छ ।
चार जुलाइबाट सुरु भएको यसपालाको अष्ट्रेलिया र न्यूजिल्याण्डको यात्रा लगभग महिनादिन लामो भ्रमण र विविधताले भरिएका अनुभव सहित सम्पन्न भएको छ । अन्य तीनवटा सहरहरुमा जस्तै अकल्याण्डमा पनि अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।