१०८ फिट अग्लो महादेव मुर्तिको सिलान्यास
भक्तपुर १३ साउन । भक्तपुर जिल्लाको साविक सुडाल गा.वि.स. हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ र काभ्रे जिल्लाको साविक टुकुचा गा.वि.स. हाल बनेपा नगरपालिका वडा नं. १ को दोसाँधमा १०८ फिट अग्लो शिव मुर्ति सिलान्यास भएको छ ।
नाग पञ्चमीको अवसरमा आज १०८ फिट अग्लो महादेव विराजमान भएको मुर्तिको सिलान्यस नेपाली कांँग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र शिवतान्त्रिक गुरु बुद्धि कुमार खड्गीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सिंहले स्थानीय स्तरको विकासका लागि समुदायको सहभागिता अपरीहार्य रहेको बताए । धार्मिक क्षेत्रको विकास समग्र विकासको आधार भएको बताउँदै नेता सिंहले महादेव मुर्तिको शिलान्यसले कलमसी क्षेत्र विश्वमै नमुना क्षेत्र हुने बताए ।
पूर्व राज्यमन्त्री एवं नेपाली काँग्रेस सांसद कन्चनचन्द्र बादे, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद रामेश्वर प्रसाद ढुंगेललगायतको सहभागी थियो । मन्दिर सिलान्यासका क्रममा हेलीकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
भक्तपुर तथा काभ्रेको दोसाँधमा निमार्णाधिन शिव मुर्ती निर्माणमा २१ करोड रुपैयाँको लागत लाग्ने कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजले अनुमान गरेको छ । उक्त रकम शिवतान्त्रिक बुद्धि कुमार खड्गी गुरुले संकलन गरेको भेटी र स्थानीयहरुको सहयोगमा मन्दिर निर्माण हुनेछ ।
जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १०८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेव मुर्ति स्थापना गर्न लागिएको हो ।
कल्पेश्वर महादेव मुर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरण क्षेत्र कालिका कल्पेश्वर महादेव मन्दीरको नाउँमा केहीवर्षअघि भोगाधिकार आइसकेको छ ।