वेलासपूर मन्दिर क्षेत्रमा बालउद्यान निर्माण
। कुमार प्याकुरेल ।
दैलेख ११ साउन । दैलेखको ऐतिहासिक पुरातात्विक धार्मिक र पर्यटकिय स्थल वेलासपूर मन्दिर क्षेत्रमा सुन्दर बालउद्यान निर्माण गरिएको छ । नारायण नगरपालिका वडा नं. ६ मा अवस्थित यो उद्यान वेलासपूर मन्दिर क्षेत्र संरक्षण प्रर्वद्धन तथा ब्यबस्थापन समितिको पहलमा जिल्ला बन कार्यालय दैलेखको आठ लाख लगानीमा निर्माण गरिएको हो ।
दैलेखको अत्यन्तै रमणिय स्थल वेलासपूर मन्दिर क्षेत्र दैलेख आईपुग्ने जो कसैको पनि पहिलो गन्तब्य हो । पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्वपुर्ण मानिने यो क्षेत्रको ऐतिहाँसिक र सामरिक महत्व पनि त्यतिकै छ । दैलेख जिल्लाको सबै भू–भागहरु अवलोकन गर्न सकिने यो स्थलमा उद्यान निर्माण भए पश्चात आन्तरिक पर्यटकहरको बाक्लो उपस्थिति हुने गरेको छ । उद्यानमा फुट ट्रेल, क्यारी, र उद्यानलाई काँडे तारले वरीपरी बाट घेराबार गरिएको छ । मूलगेट र पूर्व तर्फ जाने सहायक गेट निर्माण गरिएको छ । उद्यानमा भारतका बिभिन्न स्थानबाट र नेपालका पूर्वी पहाडबाट महत्वपूर्ण विरुवाहरु ल्याई वृक्षारोपण गरिएको छ । उद्यानमा विभिन्न जातका फूलका बोटहरु र अशोक, रुदाक्ष, वोधिचित्त, वोटल पम्म धुपी, गुलमोर लगायतका विरुवाहरु रोपिएको उद्यान निर्माण संयोजक तथा सहायक वन अधिकृत सावित्रा खड्काले जानकारी दिएकी छन् ।
उद्यानले यस मन्दिर क्षेत्रलाई निकै शोभायमान बनाएको छ । एक नगर एक बाल उद्यान निर्माण गर्ने नीति अनुरुप यो उद्यान वेलासपूर क्षेत्रमा निर्माण गरिएको हो । उद्यान निमार्णमा धरै चुनौतिहरुको सामना गर्नु परेको र रोपिएका विरुवाहरु जगाउन स्थानिय वासिन्दा र संरक्षण समितिको दायित्व रहेको जिल्ला बन अधिकृत रामकाजी श्रेष्ठले वताएका छन् ।
बाईसे चौविसे राज्यकालमा यहि टाकुराबाट वेलासपूर राज्यको संचालन गरेको इतिहास रहेको छ । यो तत्कालिन वेलासपूर राज्यको राजधानी र दरबार क्षेत्र पनि हो । दैलेखको प्रसिद्ध वेलासपूर वटुक भैरवको मन्दिर हाल पुर्ननिर्माण भैरहेको वेलासपूर मन्दिर क्षेत्र संरक्षण प्रवद्र्धन तथा ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले जानकारी दिएका छन् । धार्मिक आस्थाको धरोहर वेलासपूर बटुक भैरवको मन्दिर निकै जिर्ण भैसकेकाले पुर्ननिर्माण गर्न लागिएको हो । आ.व २०७२÷७३ मा तत्कालिन जिल्ला विकास समितिको आठ लाख रकम र पर्यटन कार्यालयबाट विनियोजित आ.व २०७३÷७४ को दश लाख रकमले निर्माण भैरहेको छ । भूकम्प प्रतिरोधात्मक प्रविधिबाट निकै कलात्मक प्यागोडा शैलिमा वेलासपूर मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माण कार्य पूर्णरुपमा सम्पन्न यहि असोजको पहिलो सातासम्म हुने निमाण समितिका अध्यक्ष भुपेन्द्र शाही वताउँछन । वेलासपूर मन्दिरमा बडादशैंको नवरात्रि र चैते दशैमा ठुलो मेला लाग्छ भने मंगलबार र शनिबार नियमित पूजा हुने गर्दछ । यस मन्दिरमा भक्तजनहरु भाकल गर्ने र मनोकामना पुरा हुने विश्वास राख्दछन् ।
यस स्थलमा अब खानेपानी र विरुवा हुर्काउनका लागि पानीको धाराको र सार्वजनिक शौचालयको आवश्यक्ता रहेको छ । पानीको धारा, शौचालय, मन्दिर निर्माण सम्पन्न र मन्दिर प्राङ्गण निर्माण कार्यका लागि नारायण नगरपालिकाले यस वर्ष वजेट विनियोजन गरेकाले तत्कालै उक्त कार्य निमार्ण सम्पन्न गरिने समितिका अध्यक्ष शाहीले जानकारी दिए ।
दैलेखको प्रमुख गन्तब्य वेलासपूर मन्दिर क्षेत्र भएकाले यसक्षेत्रको संरक्षण र प्रवद्र्धनमा सबैले चासो राख्नु जरुरी छ ।