अमेरिकामा निधन भएका अल्ट्राधावक पण्डितको शव नेपाल ल्याइयाे
काठमाडौं, १० साउन । गत असार २ मा हिमाल आरोहणको क्रममा अमेरिकामा निधन भएका अल्ट्रा धावक सञ्जय पण्डितको शवलाई आज नेपाल ल्याइएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासको पहलमा उनको पार्थिक शरीर नेपाल ल्याइएको हो । ४० दिनपछि नेपाल आइपुगेको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद राखेपमा राखिएको थियो ।
सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १ सय ९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, गगन थापा माओवादी नेता एवं गृहमन्त्री जनार्दन शर्मा एवं खेलाडीहरु राखेप परिसर पुगेर उनलाई अन्तिम श्रद्धान्जलि दिएका छन् ।
पण्डितको अन्त्येष्टि गृहजिल्ला प्यूठानमै हुने परिवारका सदस्यले जानकारी गराएका छन् । त्यसका लागि उनको शव हेलिकोप्टरमार्फत आजै प्यूठान लगिनेछ । त्यसअघि प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।