आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपाल ९६ रनले पराजित
काठमाडौं, १० साउन । आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपाल ९६ रनले पराजित भएको छ । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र अफगानिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा मात्र ९९ रनमा समेटियो । छनोटमा अफगानिस्तानसँग नेपालको यो दोस्रो हार हो । पहिलो भेटमा पनि नेपाल १४१ रनले पराजित भएको थियो ।
योसँगै आठौं पटक विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । गत वर्ष नेपालले बंगलादेशमा भएको विश्वकप खेलेको थियो । नेपाललाई पराजित गरेसँगै अफगानिस्तान भने शतप्रतिशत जितसहित न्युजिल्यान्डमा आगामी वर्ष हुने विश्वकपको लागि छनोट भएको छ ।