माधव नेपालले प्रयोग गरेको गाडीमा तोडफोड
रामेछाप, ८ साउन । पूर्व प्रधानमन्त्री एवमं नेकपा एमालेका वरिष्ठ नेता माधवकुरमार नेपालको गाडीमा रामेछाप बजारमा तोडफोड भएको छ । पुष्पलाल स्मृति दिवसको सन्दर्भमा रामेछापको भंगेरीमा आज हुने कार्यक्रममा सहभागि हुन नेपाल हिजो साँझ रामेछाप पुगेका हुन् ।
रामेछाप बजारस्थित राष्ट्रिय बाणिज्य बैंकको अगाडि रहेको नेपालको गाडीमा हिजो साँझ अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडी र पछाडिको शिशा फुटेको छ । नेता नेपाल भने सुनकोशी गेष्ट हाउसमा पार्टी कार्यकर्तासँग छलफलमा थिए । गाडिमा ढुंगा बेलुका सवा आठ बजे प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बुलेट मोटरसाइकल चढेर आएका दुई जना ब्यक्तिले गाडीमा ढुङ्गा प्रहार गरेर भागेका थिए । ढुङ्गा प्रहार कस्ले र किन गर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना पछि सुरक्षा ब्यवस्थालाई कडा पारिएको प्रहरीले जनाएको छ ।
क्षति भएको गाडी जिल्ला कारागारमा राखिएको छ । कारागार सुरक्षामा खटिएका प्रहरी समेत ढुङ्गा प्रहार गर्ने अभियुक्तको खोजीमा परिचालित भएका छन् ।