उपत्यकामा ६ लाख ३९ हजार सवारी कारबाहीमा
भक्तपुर, ६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३र७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् ।
तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याको वृद्धिसँगै सवारीसाधन कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताए। महाशाखाले आव २०७२र७३ मा पाँच लाख ४८ हजार ७७० सवारीलाई कारबाही गरेको थियो ।