डेढ महिनादेखि २१ मन्त्रालय सचिवको भरमा
काठमाडौं, ६ साउन । झन्डै डेढ महिनादेखि २१ मन्त्रालय विभागीय मन्त्रीबिहिन भइरहेका छन् । यतिबेला ती मन्त्रालयहरु सचिवको भरमा चलिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेमप्लेट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मात्र सीमित छैन । सिंहदरबारका २१ मन्त्रालयका मन्त्री बस्ने कार्यालयको ढोका बाहिर पनि उनको नेमप्लेट छ । जहाँ देउवा प्रधानमन्त्रीसहित उक्त मन्त्रालयको जिम्मेवारीमा रहेको उल्लेख छ । तर नेमप्लेट भएका ती मन्त्रालयहरुमा उनले समय दिन सक्ने संभावना छैन ।
गत जेठ २३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगतै ८ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका थिए । तीन उपप्रधानमन्त्रीसहित अन्य ४ जना मन्त्रीहरुले जेठ २४ गते सपथ लिएका थिए । मन्त्रीमण्डल गठन गरेको झन्डै डेढ महिना बितिसक्दा पनि मन्त्रीपरिषद बिस्तार हुन नसकेको हो ।
मन्त्रीमण्डल बिस्तारका लागि सत्ता सहयात्री माओवादी केन्द्रले संभावित मन्त्रीहरुको नामको टुङ्गो लगाएको बताए पनि नेपाली कांग्रेसले अझै मन्त्रीको टुङ्गो लगाएर अन्तिम निर्णय गरेको छैन । सरकारका सहयोगी अन्य दललाई पनि सरकारमा सहभागी गराउने योजना राखिएको भएपनि यसबारे पनि कुनै टुङ्गो लागेको छैन । मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले कार्यदल समेत निर्माण गरेको छ । माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन र नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखकले पटक पटक मन्त्रिपरिषद बिस्तारका लागि छलफल गरेपनि अन्तिम सहमति जुटाउन सकेका छैनन् ।