सेती नदीले बगाएर तीन बेपत्ता
पोखरा, ३ साउन । सेती नदीमा नुहाउने क्रममा आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसोकै घटना भएपनि प्रहरीले भने साँझमात्र थाहा पाएको थियो । पोखरा लेखनाथ महानगरपालिका ३३ पशुपतीघाटमा नुहाउने क्रममा बगेर सोमबार २ युवतीसहित ३ जना बेपत्ता भएका हुन् ।
सोमबार अपराहृन करीब साढे ३ बजे नुहाउने क्रममा एक्कासी बढेको बाढीले बगाउँदा साविक ताप्रे ७ दाङ घर भई हाल पशुपतीघाटमा मजदुरी गर्दै आएका १८ वर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् । नुहाउन नदीमा पसेको केही समयमा नै उनीहरुलाई बगाएपनि प्रहरीलाई साँझ ६ बजेमात्रै खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गर्मी छल्न भन्दै गोम्छे सार्की, संगीता, ध्वनी र सुनिल सेती नदीमा पसेका थिए । सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनीललाई पनि बगाएको र उनलाई बचाउन गएकी ध्वनीलाई पनि नदीले बगाएको प्रत्यक्षदर्शी तथा संगै नुहाउन गएका गोम्छेले बताएका छन् । उनले बगाएको धेरै सयमसम्म पौडेर बाहिर निस्कने आशा गर्दै बसेको तर करीब २ घण्टासम्म पनि बाहिर ननिस्केपछि अन्यलाई जानकारी गराएको र प्रहरीलाई खबर गरेको बताए ।
यसैबीच, प्रहरीले बगेका ३ जनाको खोजी गरेपनि मंगलबार विहानसम्म फेला नपारेको जनाएको छ । आज विहानैबाट गोताखोरसहितको टोलीले खोजी गर्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । उनले बेपत्ताहरुको कपडा र मोवाइल भने नदी किनारमा फेला पारेको बताए ।