आइएनजिओको २३ अर्ब लगानी, बालुवामा पानी

भक्तपुर न्यूज

३ साउन २०७४ ३:१०

आइएनजिओको २३ अर्ब लगानी, बालुवामा पानी

काठमाडौं, ३ साउन । तराई मधेसका २२ जिल्लामा एक वर्षमा २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजोओ मार्फत खर्च गरिएको तथ्य बाहिर आएको छ। आर्थिक वर्ष २०७३ ०७४ मा ७ सय ४५ वटा परियोजनामार्फत तराई मधेसका २२ जिल्लामा २३ अर्बभन्दा बढी रकम खर्च गरिएको पाइएको हो ।

उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिय थिए । विभिन्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था मधेसका २२ जिल्लामा सक्रिय भएर एक वर्षमै २३ अर्ब खर्च गरेका छन ।
अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले कैलालीमा सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना चलाएका थिए।

अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपलब्ध भई रेकर्ड भएअनुसार उक्त तथ्यांक देखिएको हो । ती जिल्लामा सबैभन्दा बढी अमेरिकाका २६ वटा, बेलायतका १४, जर्मनीका चार वटा, स्विट्जरल्यान्डका ४ वटा गैरसरकारी संस्थासमेत सक्रिय थिए । सबैभन्दा बढी चितवनमा दुई अर्ब रकम खर्च भएको छ भने त्यसपछि रूपन्देहीमा एक अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ। कैलाली, महोत्तरी, मकवानपुर, बाँके र सुनसरीमा एकरएक अर्बभन्दा बढी रकम खर्च भएको छ। सर्लाहीमा पनि करिब एक अर्ब रुपैयाँ खर्च भएको देखिन्छ।

प्रदेश नम्बर १ अन्तर्गतका झापामा २७ वटा परियोजनामार्फत ६१ करोड २६ लाख ७७ हजार, मोरङमा ३० वटा परियोजनामार्फत ८२ करोड ९० लाख ८४ हजार एक सय रुपैयाँ र उदयपुरमा २७ वटा परियोजनामार्फत ९७ करोड ४९ लाख २० हजार रुपैयाँ खर्च भएको छ । प्रदेश नम्बर २ अन्तर्गत सप्तरीमा २८ वटा परियोजनामार्फत ८४ करोड ८३ लाख ४७ हजार सात सय, सिरहामा ३० वटा परियोजनामार्फत ८४ करोड ३७ लाख पाँच हजार पाँच सय, धनुषामा ३७ वटा परियोजनामार्फत ८६ करोड ५५ लाख ६५ हजार आठ सय रुपैयाँ खर्च भएको छ । तर प्रतिफल शुन्य हुँदा लगानी बालुवामा पानी सरह भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *