भोलीसम्म मन्त्रिपरिषद् विस्तार तयारी
काठमाडौ, २ असार । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसेकेको छ । तर, अहिलेसम्म उनको नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादीभित्र असन्तुष्टि पनि देखिएका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले चाँडो मन्त्रीपरिषद विस्तारका लागि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिएका छन् ।
प्रधानमन्त्री र सत्तागठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाहीँ विभिन्न कारण देखाएर मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरिरहेका थिए । तर, अव संविधान संशोधनमा दुई तिहाईको सम्भावनाका खेल तत्कालका लागि सकिएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा पुगेका छन् ।
मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको काँग्रेस निकट स्रोत बताउँछ । यद्यपि अहिलेसम्म मन्त्रिहरुको नाम र मन्त्रालयको बाँडफाँडको विवाद अझै टुंगिएको छैन ।