सरकारमा ३३ प्रतिशत महिला सहभागिता माग
काठमाडौं, १ साउन । महिला सांसद समन्यव समितिले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवालाई आरजु राणाले नै ज्ञापनपत्र बुझाएकी हुन् ।
महिला सांसदहरुको ज्ञापनपत्रमा मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोकिनुपर्ने लगायतका माग राखिएका छन् ।
महिला हक अधिकारका विषयमा गतिविधि सन्चालन गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, फोरमलगायत दलहरुका महिला सांसदहरुले ‘महिला समन्वय समिति’ हालै गठन गरेका छन् । समितिमा आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार पहिलो अध्यक्ष कांग्रेसकी आरजु छिन् । उपाध्यक्षमा एमालेकी श्रीमाया थकाली र सचिवमा माओवादी केन्द्रकी सीता नेपाली छिन् ।