यसरी सञ्चालन हुनुपर्ने हो स्थानीय संसद् ?

भक्तपुर न्यूज

१ साउन २०७४ २:२५

यसरी सञ्चालन हुनुपर्ने हो स्थानीय संसद् ?

काठमाडौं, १ साउन । संविधानअनुसार स्थानीय तहमा पनि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–संसद् गठन हुन्छ । स्थानीय तहमा गठन भएका सभा सञ्चालन गर्न मन्त्रालयले सभा सञ्चालनसम्बन्धी नमुना कार्यविधिसमेत जारी गरेको छ । मन्त्रालयले जारी गरेको सभा सञ्चालन कार्यविधिअनुसार सदस्यहरू तोकिएको समयमा सभाहलमा प्रवेश गर्नेछन् ।

राष्ट्रिय गान बजेपछि औपचारिक रूपमा सभाको कामकारबाही सुरु हुन्छ । त्यस्तो सभाको अध्यक्षता स्थानीय तहको प्रमुखले गर्नेछ । प्रमुखको अनुपस्थितिमा उपप्रमुखले सभाको अध्यक्षता गर्नेछ । यसरी केन्द्रको व्यवस्थापिका–संसद्को जस्तै स्थानीय तहको व्यवस्थापिका–संसद्को कार्य सञ्चालन हुनुपर्नेमा नेता(मन्त्री बोलाएर संसद् उद्घाटन गर्न थालिएको छ ।

स्थानीय तहका जानकारहरूले यस्तो अभ्यासलाई विश्वकै कमजोर र लज्जित अभ्यासका रूपमा अथ्र्याएका छन् । स्थानीय तहका जानकार खेमराज नेपालले जनप्रतिनिधिले दलका नेतामार्फत स्थानीय संसद् उद्घाटन गरेर स्थानीय सरकारको अवधारणालाई कमजोर बनाएको बताए ।

जनप्रतिनिधिले नै स्थानीय तहको अधिकार केन्द्र्रमा फर्काउन सहयोग पुग्ने गरी गतिविधि गरेको भन्दै उनले जनप्रतिनिधिका लागि त्यो लज्जास्पद घटना भएको टिप्पणी गरे । अहिलेसम्मको प्रजातान्त्रिक अभ्यासमा उच्च भनिएको बेलायत र अमेरिकामा समेत संसद्को उद्घाटन भएको छैन । नेपालमा समेत संसद्को उद्घाटन भएको छैन ।

उल्टै मन्त्रालयमाथि आरोप
स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिले स्थानीय तहको अभ्यास गर्दा सुरुमै गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको छ । तर, त्यस्तो नगर्न सुझाब दिँदा मन्त्रालयले हस्तक्षेप गरेको आरोप लागेपछि चुपचाप बस्नुपरेको मन्त्रालयले जनाएको छ । ‘त्यस्तो नगर्नुस् गलत हुन्छ भन्दा केन्द्रले हस्तक्षेप गर्यो भन्ने आरोप लाग्यो । स्थानीय तह आफैँमा स्वायत्त संस्था भएकाले मन्त्रालयले केही बोलेको छैन,’ सचिव थपलियाले नयाँ पत्रिकासँग भने । उनले जनप्रतिनिधिमा एकात्मक र केन्द्रीकृत सोच हाबी हुँदा मन्त्री÷नेता राखेर संसद् उद्घाटन भएको टिप्पणी गरे । ‘जनप्रतिनिधिमा रहेको यस्तो केन्द्रीकृत सोचले स्थानीय सरकारको जग खलबलिने अवस्था उत्पन्न भएको छ,’ सचिव थपलियाले भने ।

तालिममा के सिकायो मन्त्रालयले 
मन्त्रालयले केही समयअघि स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सञ्चालन गरेको अभिमुखीकरण तालिममा सभा सञ्चालन विधिबारे प्रशिक्षण दिएको थियो । सो अभिमुखीकरण तालिममा सभा सञ्चालन विधि र पछि सभा सञ्चालन कार्यविधि नै बनाएर पठाएको थियो । तर, केन्द्रले हस्तक्षेप गरेको आरोपपछि संसद् सञ्चालनको विधिबारे निर्देशन भने मन्त्रालयले दिएको थिएन । सचिव थपलियाले स्थानीय जनप्रतिनिधिले आफ्नो अधिकार र हैसियत बुझ्न नसकेको बताए ।

कसरी चल्थ्यो स्थानीय निकाय
यसअघिको संविधानले स्थानीय निकायलाई संवैधानिक अधिकार दिएको थिएन । संवैधानिक अधिकार नहुँदा स्थानीय निकाय सरकारको नियन्त्रणअनुसार चल्थ्यो । केन्द्र सरकारले दिएका आदेश, निर्देशन र बनाएको कानुन, नियमावली एवं मन्त्रालयको नियन्त्रणमा स्थानीय निकाय चल्ने गरेका थिए । त्यसैले स्थानीय निकायका परिषद् भेला नेताहरूले उद्घाटन गर्ने गर्थे । तर, संसद् उद्घाटनको व्यवस्थै हुन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *