नेपाली सीमामा भारतीय जासुस
काठमाडौ, ३१ असार । नेपाल भारत सीमा क्षेत्रमा भारतले जासुसी संयन्त्र सक्रिय बनाउने तयारी गरेको छ । जासुसी संयन्त्रलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा रहेको एसएसबीका ६ सय ५० पोष्टमा भारतले जासुस खटाउने छ । दुवै देसका सीमा क्षेत्रबाट मानिसको आवतजापतमा भने कुनै अवरोध सिर्जना नगरिने उल्लेख गरिएको छ ।
भारतीय सरकारी अधिकारीका अनुसार नेपाल भारत सीमा क्षेत्रमा रहेको घनाबस्ती, पहाड तथा तराई क्षेत्र, ठूलो जंगल, कम विकसित क्षेत्र तथा दुर्गम र सीमा क्षेत्रमा बस्ने मानिसहरुको धार्मीक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा जासुसी संयन्त्रको महसुस गरिएको हो । खुल्ला सिमाना तथा फ्रि भिषा क्षेत्रको फाइदा उठाउँदै सीमा क्षेत्रमा अपराधिक तथा अराष्ट्रिय गतिविधि चुनौतिका रुपमा देखिएको छ ।
अधिकांश सीमा क्षेत्रमा आइएसआई, भारतीय विद्रोही समूह , बाम उग्रबादी, कट्टरपन्थी, हतियार तस्कर, लागुपदार्थ, नक्कली भारतीय रुपैयाँको कारोबारी तथा मानव तस्करहरु सक्रिय रहेको दाबी गरिएको छ । त्यस्तै भारत विरोधी शक्ति तथा अल्पसंख्यक समुहले पनि भारतीय पक्षलाई दुःख दिने कोशिस गरिरहेको छ । जासुसी संयन्त्रले सीमा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । यसबाट नेपाल र भुटानलाई समेत सहयोग पुग्ने दाबी गरिएको छ ।