राजपा नेपालमा संयोजक फेर्ने लफडा

भक्तपुर न्यूज

३० असार २०७४ ९:५३

राजपा नेपालमा संयोजक फेर्ने लफडा

काठमाडौँ, ३० असार । राष्ट्रिय जनता पार्टी नेपाल जम्बो कार्यसमितिको नामावलीसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सबै कागजात पूरा भएपछि दल दर्ताको प्रमाणपत्र पाउनेछ । तर, पार्टीभित्रको विवाद अझै समाधान हुन सकिरहेको छैन ।

बैशाख ७ गते एकता भएपछि राजपा नेपालमा छ जना अध्यक्षसहितको अध्यक्ष मण्डल बनेको छ । अध्यक्ष मण्डलको नेतृत्व चक्रिय प्रणाली अनुसार चलाउने निर्णय भएको थियो तर पार्टी गठन भएको तीन महिना हुन लाग्दा नेतृत्व परिवर्तन अझै भएको छैन । पार्टी एकतापछि बैशाख १९ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मण्डलमध्ये महन्थ ठाकुरलाई पार्टीका संयोजकको जिम्मेवारी दिने निर्णय गर्यो । संयोजक प्रत्येक दुई महिनामा परिवर्तन हुने प्रावधान पनि राख्यो ।

सो प्रावधान अनुसार असार १९ गते राजेन्द्र महतो संयोजक बन्नुपर्ने हो तर महन्थ ठाकुरले संयोजक पद छाडेका छैनन् । राजपा नेपालका एक नेताले भने, ‘संयोजकको म्याद सकिएपछि आफै स्वयंले छाडेर अर्कालाई जिम्मेवारी सुम्पिनुपर्छ तर संयोजक ठाकुरले छाड्न मानेका छैनन्, यस अवस्थमा राजेन्द्र महतोले आफै गएर माग्ने कुरा पनि हुँदैन ।’

तर सो पार्टीका महासचिव मनिष सुमन भन्छन्, ‘हामीलाई संयोजक फेर्ने कुनै हतार छैन, दल दर्ताका लागि आयोगमा निवेदन दिएका छौं दर्ता भएपछि यी कुराहरुलाई विधिवत रुपमा कार्यान्वयनमा ल्याउनेछौ ।’ यद्यपि दुई–दुई महिनामा संयोजक परिवर्तन गर्ने निर्णय भएको कुरा उनले स्वीकार गरे । उनले भने राजपा नेपाल सामूहिक नेतृत्वमा चल्ने पार्टी हो, संयोजकको खासै भूमिका हुँदैन, उसले बैठकहरुको संयोजन गर्ने काम मात्र रहेको सुमनले बताए ।

अर्का महासचिव केशव झाले पनि यो पार्टीको आन्तरिक कुरा भएको र पार्टी दर्ता पनि नभएको अवस्थामा सबै कुरा मिल्ने मिलाउने काम भइरहेको बताए । उनले यस्ता झिना मसिना कुराप्रति ध्यान नदिएको प्रतिकृया दिए । पार्टी दर्ता भएपछि यी कुराहरुमा ध्यान दिइने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *