कर्मचारीको विदेश भ्रमण रोक्नुहोस् : प्रधानमन्त्री

भक्तपुर न्यूज

३० असार २०७४ २:११

कर्मचारीको विदेश भ्रमण रोक्नुहोस् : प्रधानमन्त्री

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन्।  दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले अनावश्यक विदेश भ्रमण रोक्न, कुनै पनि कर्मचारी विदेश भ्रमणमा जाँदा उसको कार्यालयसँग राय सुझाव लिन, भ्रमण मुलुकी प्रशासनको हितमा छ छैन भन्ने तर्फ पनि ध्यान दिन निर्देशन दिएका छन्।

‘प्रधानमन्त्रीले सचिवहरुको विदेश भ्रमण अनावश्यक र असम्बन्धित विषयमा भएको पत्रपत्रिकामा आएपछि त्यसप्रति चासो देखाउनु भएको छ। उहाँले आजै असान्दर्भिक विदेश भ्रमण तत्काल रोक्न मुख्य सचिवलाई निर्देशन दिनु भएकोछ’, प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘नवनियुक्त मुख्य सचिवले सम्बन्धित सचिवहरुलाई यो विषयमा सर्कुलर गरिसक्नु भएको छ।’

सरकारी कर्मचारी अनावश्यक रुपमा राज्यको ढुकुटीको स्रोतबाट विदेश भ्रमणमा गएको नागरिक दैनिकले सार्वजनिक गरेको थियो। ‘त्यसबारे सरकारले अझ छानवीन गर्ने नै छ। तत्कालका लागि दुई सरकार पक्षीय र जानैपर्ने बाहेकका विदेश भ्रमण नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । परियारले भने।

मुख्य सचिव क्षेत्रीले आफ्नो पद बहाली कार्यक्रमलाई सम्बोधनबाटै सचिवहरुलाई विदेश भ्रमण नगर्न र आफू मातहतका मन्त्रालयबाट नपठाउन निर्देशन दिएका छन्। बिहीबार बिहान मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको थियो। आजै दिउँसोदेखि पद सम्हाल्दै उनले सचिवहरुलाई विदेश सयर बन्द गर्न भनेका हुन्। मुख्य सचिव सोमलाल सुवेदी एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा फिलिपिन्स जाने भएपछि उनको स्थानमा सरकारले क्षेत्रीलाई नियुक्त गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *