‘मेरी कुसुम’ साउन ६ गतेबाट रिलिज हुने
काठमाडौँ, २९ असार । यूएइका विभिन्न शहरमा प्रदर्शन पश्चात चलचित्र ‘मेरी कुसुम’ अब नेपालका विभिन्न हलमा रिलिज हुने भएको छ । नेपालमा बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्र अब साउन ६ गतेबाट रिलिज हुने निर्माण पक्षले बताएको छ ।
यूएइका विभिन्न राज्यमा भएको प्रदर्शनपश्चात चलचित्रको राम्रो प्रतिक्रिया मिलेको भन्दै कलाकार तथा निर्माता मोहन बोगटीले नेपालमा पनि माया पाउनेमा विश्वस्त रहेको बताए । साउन ६ गतेबाट अब चलचित्रको प्रदर्शन पछाडि नसर्ने उनको भनाई छ ।
एनआरएन घिमिरेले निर्देशन गरेको यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । मोहनले भने–‘दुबई, अवुधाबी लगायतका राज्यमा चलचित्र हेरेपछि दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
उनले यूएईबाटै आफूहरुले फिल्मको केही प्रतिशत लगानी उठाई सकेको बताउँदै भने ‘अब, नेपालबाट लगानी सुरक्षित हुनेमा ढुक्क छौ ।’ सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरले मिलेर निर्माण गरेको यो चलचित्र लभस्टोरी तथा सांगितिक कथामा बनेको हो ।