सुर्यविनायकमा सस्तो कपडा पसल सञ्चालनमा
भक्तपुर, २८ असार । भक्तपुरको सुर्यविनायकमा नयाँ सस्तो कपडा पसल सञ्चालनमा आएको छ । जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र पर्छ। भक्तपुरको सूर्यविनायकमा खुलेको ‘चाइना भीबी क्लोथिङ स्टोर’ नामको पसलबाट यस्तो सुविधा लिन सकिने पसल सञ्चालकहरु बताउँछन् । पसलमा बालबच्चा, युवा, वयस्कदेखि प्रौढसम्मले लगाउने अधिकांश तयारी कपडा उपलब्ध छन्। पसलमा महिला पुरुष दुवैका लागि विभिन्न डिजाइनका टिसर्ट, सर्ट, हाफपाइन्ट, पाइन्ट, ट्राउजर, ज्याकेट, नाइट ड्रेस, विन्ड्चिटरदेखि रेनकोटसम्म बेच्न राखिएको छ।
त्यस्तै, छाता, झोला, बेल्ट, झ्यालको पर्दा, सिरानीको खोल तथा तन्ना, मसिना ब्ल्याङ्केटलगायतका लत्ताकपडा पनि एकै मूल्यमा किन्न सकिन्छ। पसलमा कपडा बाहेक १५ सय र २ हजार मुल्यका लगेज समेत उपलब्ध छ। चीनको खङदुमा रहेका आफनै दुई कारखानाबाट सीधै ल्याएर बेच्ने गरेकाले नेपाली बजार भाउभन्दा सस्तो हुन पुगेको उनीहरु
बताउँछन् । उनीहरुका चीनमा दुई कपडा कारखाना छन्।
नेपालमा भित्रने अधिकांश कपडा चीनबाट आयात हुने गर्छ। तर आवतजावत गर्दा तथा त्यहाँ बसुन्जेलको खर्च, बिचौलीयाले लिने तथा धेरै कमिसन लगायतका कारणले गर्दा यहाँ कपडाको मूल्य महंगोमा पर्ने गर्छ। चीनमा आफ्नै कारखाना भएकाले उनीहरुलाई भन्सार र ढुवानी खर्चबाहेक अन्य कुनै पनि खर्च लाग्दैन। आफ्नो परिवार नै संलग्न भएर सीधै कपडा आयात गर्ने हुनाले बिचौलिया तथा आयातकर्ता, होलसेल, रिटेलरबीचमा हुने कमिसनको बार्गेनिङ हुन पाउँदैन, जसले गर्दा उही कपडा पनि सस्तो पर्न गएको उनीहरुको तर्क छ।
पसलमा सर्ट र पाइन्ट बाहेक अन्य किनी सकेको कपडालाई भने एक्सचेन्जको सुविधा दिइएको छैन। सुर्यविनायकको यो पसलमा अत्याधिक भीड हुने गरेको र स्टाफहरुलाई सामान देखाउनै भ्याई–नभ्याई हुने गरेको छ । माग उच्च रहेकाले त्यसअनुरुपको कपडा पूर्ति गर्न हम्मेहम्मे परिरहेको छ।