दाङका व्यवसायी श्रेष्ठको हत्यामा संलग्न युवती पक्राउ

भक्तपुर न्यूज

२७ असार २०७४ ७:१४

दाङका व्यवसायी श्रेष्ठको हत्यामा संलग्न युवती पक्राउ

दाङ, २७ असार । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका(४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *