उपत्यकामा बन्दको सामान्य प्रभाव
काठमाडौं, २७ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता पक्राउ परेको बिरोधमा गरेको देशव्यापी बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ । स्थानीय तह निर्वाचन खारेजीको अभियानका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ तथा भारतले एकलौटी रुपमा बनाएको बाँधका कारण सप्तरीका बिभिन्न भाग डुवानमा परेकोप्रति सरकार मुखदर्शक बनेको भन्दै पार्टीले नेपाल बन्दको आह्बान गरेको हो ।
बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन प्याब्सनका महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाए । सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए ।
बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन् । बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका आर्यन अधिकारीलाई सोमबार राति धरानको भानुचोकबाट पक्राउ गरिएको छ ।