नेपाली टोली आज बंगलादेशविरुद्ध मैदानमा उत्रिँदै
काठमाडौं, २७ असार । एएफसी युथ–२३ छनोटको तयारीमा रहेको नेपाल र बंगलादेश मंगलबार आज मैत्रीपूर्ण खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे उत्रिँदैछन्। गत वर्ष बंगलादेशको ढाकामा बंगबन्धु कप र साग गेम्सको उपाधि जितेको नेपाली युथ–२३ टिमका लागि मंगलबारको मैत्रीपूर्ण खेल आफ्नो पुरानो शाख जोगाउने अभियानको रुपमा रहेको छ।
स्ट्राइकर विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टिम प्रायः राष्ट्रिय खेलाडीले भरिपूर्ण छ। बंगलादेश पनि एएफसी युथ–२३ छनोटका लागि तयारीका साथ काठमाडौं आएको छ। नेपाललाई साग गेम्सको उपाधि दिलाएका प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशविरुद्धको खेललाई एएफसी युथ–२३ छनोटअगाडि आफ्नो खेलको मूल्याङ्कन गर्ने अवसरको रुपमा लिएका छन्।
नेपालले युनाइटेड अरब इमिरेट्स युएईमा शनिवारदेखि सुरु हुने एएफसी युथ–२३ छनोटका लागि ढिलो तयारी सुरु गरेको थियो। ‘टिम संयोजन तथा आफ्नो रणनीति लागु गर्न अभ्यास खेल निकै आवश्यक हुन्छ। हामी बंगलादेशविरुद्ध आफ्नो कमजोरी र बलियो पक्षसँग पनि साक्षात्कार हुनेछौं,’ प्रशिक्षक शाक्यले भने।
आफूहरु उज्वेकिस्तान, आयोजक युएई र लेबननजस्तो बलियो समूहमा रहेको शाक्यले बताए। यस्तै, कप्तानको जिम्मेवारी पाएका विमलले ठूलो प्रतियोगितामा नेतृत्व गर्न पाउनुलाई सम्मानको रुपमा लिएको बताए। बेलायतमा जन्मिएर अस्ट्रेलियामा बसाइँ सरेका एन्ड्रयु ओर्ड एक महिनाअघि मात्र बंगलादेशको प्रशिक्षक नियुक्त भएका थिए। दक्षिण एसियामा यो उनको पहिलो खेल हो। त्यसैले उनी मंगलबारको खेललाई लिएर निकै उत्साही छन्।
बंगलादेशले एएफसी युथ–२३ छनोटअन्तर्गत आयोजक प्यालेस्टाइन, जोर्डन र ताजकिस्तानविरुद्ध खेल्दैछ। प्यालेस्टाइनमा पनि आर्टिफिसियल मैदानमा खेल्नु पर्ने भएका कारण सातदोबाटोको आर्टिफिसियल मैदानमा हुने मैत्रीपूर्ण खेल आफूहरुका लागि राम्रो अनुभव हुने एन्ड्रयु बताउँछन्।