इराकी प्रधानमन्त्री अबादी मोसुलमा

भक्तपुर न्यूज

२६ असार २०७४ १०:१७

इराकी प्रधानमन्त्री अबादी मोसुलमा

एजेन्सी, २६ असार । इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गरेका छन् । मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ ।
प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई दिनका लागि मोसुलको भ्रमण गरेका प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
सन् २०१४ को जुनमा आइएसले मोसुल आफ्नो कब्जामा लिएको थियो । तर अहिले मोसुलको धेरै जस्तो भाग अमेरिकी हवाई सेनाको सहयोगमा इराकी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
इराकी सरकारले गत जनवरीमा नै पूर्वी मोसुल आईएसको नियन्त्रणबाट पूर्ण रूपमा स्वतन्त्र भएको घोषणा गरेको थियो । तर पश्चिम मोसुलमा आईएसविरुद्धको युद्ध निकै कठिन बनेको थियो । सन् २०१४ मा आईएसले नियन्त्रणमा लिएको मोसुलमा करिब ९ लाख जनताको बसोबास रहेकोमा युद्धका क्रममा आधाभन्दा बढी सो क्षेत्र छाडेर अन्यत्र भागेका थिए ।
अक्टोबरदेखि अहिलेसम्म मोसुलमा मात्रै २ हजार ४ सय ६३ जना मारिएको र १ हजार ६ सय ६१ जना घाइते भएको तथ्यांक रहेको छ । मोसुलका सर्वसाधारणलाई आईएस लडाकुले मानव ढालका रूपमा समेत प्रयोग गरेका थिए भने अमेरिका नेतृत्वको सेनाको हवाई हमलामा पनि सयौंको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *