भरतपुर काण्ड अझै किनारा लागेन
काठमाडौँ, २६ असार । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी मुद्दाको किनारा सोमबार पनि लाग्न सकेन । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सोमबार सुनुवाई तोकिएको थियो । तर, न्यायाधिश मिश्रले आफू बाहिर जानुपर्ने भएकाले नभ्याउने बताएपछि मुद्दाको सुनुवाइ एक हप्तापछि सारिएको छ । मुद्दाको सुनुवाई अब अर्को सोमबार हुनेछ । न्यायाधिशले नभ्याउने बताएपछि बहसका लागि पुगेका वकिलहरु निराश हुँदै फर्केका थिए ।
यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र यही असार १३ गते पुर्याइसकिएको छ ।
निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमाले उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।
मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणू दाहालबीच तीव्र प्रतिस्पर्धा थियो । माओवादी कार्यकर्ताले १९ नं वडाको मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो ।