साउन १ देखि मतदाता नामावली अद्यावधिक
काठमाडौं २६ असार । निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने जानकारी दिए। अब प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुनेछ, दाहालले भने, फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्छ। उनले यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने नाम लेखाउनुनपर्ने बताए। उनले सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली अद्यावधिक हुने बताए।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने तयारी भइरहेको जानकारी दिए। फागुनसम्मको मतदाता नामावली लिएका छौं, उनले भने, केही छुटेका र बढेकाका लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन सुरु हुँदैछ। उनले बर्खाको समय भएको र समयसमेत कम भएका कारण यसअघि जसरी गाउँगाउँ गएर मतदाता नामावली संकलन गर्न नसकिने बताए। समय अभाव र वर्षाका कारण हामी गाउँगाउँ गएर मतदाता नामावली संकलन गर्न सक्तैनौं। त्यसैले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ। उनले ७ प्रदेशअन्तर्गतका ७५ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन हुने बताए।
तर मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्। स्थानीय तहको निर्वाचनका लागि गत फागुन ९ गतेसम्म अन्तिम हो। त्यति बेला नाम लेखाएका २ नम्वर प्रदेशका मतदाताले मात्रै स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदान गर्न पाउँछन्, उनले भने, अब नाम लेखाउने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हो। उनले यसअघि फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले फेरि नाम लेखाउनुनपर्ने बताए।