साझा बस अब धुलिखेल–पनौतीसम्म सञ्चालन तयारी

भक्तपुर न्यूज

२५ असार २०७४ २:४६

साझा बस अब धुलिखेल–पनौतीसम्म सञ्चालन तयारी

भक्तपुर, २५ असार । भक्तपुर र काभ्रेको सिमाना साँगा भज्यांगसम्म साझा यातायात सञ्चालनमा आएसँगै यसलाई धुलिखेल–पनौतिसम्म सञ्चालन गर्ने तयारी सुरु भएको छ । काभ्रेका तीनवटा नगर धुलिखेल, बनेपा र पनौतीका जनप्रतिनिधिले त्यस्तो प्रयास थालेका हुन् । काभ्रेका तीनवटै नगरका प्रमुखले साझा यातायातलाई कसरी काभ्रेमा भित्र्याउन सकिन्छ भनेर पहल गरेको बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जूले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसँग धुलिखेलसम्म साझा कसरी ल्याउन सकिन्छ भनेर छलफल चलाएको बताए ।
जनताका लागि सीधा र सरल रूपमा यातायात कसरी सञ्चालन गर्न सकिन्छ भनेर मेरो प्रयास रहेको छ । साँगासम्म आएको साझा यातायातलाई धुलिखेलसम्म ल्याउन साझासमेत सकारात्मक देखिएको ब्यान्जूले बताए । उनले अब धुलिखेल नगरपालिका, स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा सबैको साझा लगानीमा साझा यातायात सञ्चालन गर्न सकिने दीक्षितले बताएको पनि सुनाए । ब्यान्जूले साझालाई कसरी धुलिखेलसम्म ल्याउन सकिन्छ भन्नेबारे आफू लागेको र सबैको अपनत्व हुने तरिकाले साझालाई धुलिखेलसम्म ल्याउने बताए ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपाने आम जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने भएकाले जनताले साझा यातायात चाहेको र आवश्यकता समेत रहेकाले आफूहरूले साझालाई पनौतीसम्म कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको बताए । साझाले दिएको सुविधाले सबैलाई आकर्षण गरेकाले आफूहरू साझालाई पनौतीमा कसरी ल्याउने भनेर छलफलमा जुटेको न्यौपाने बताउँछन् ।
‘हामीले साझासँग पहिलो चरणको कुरा गरेका छौं, सबैको साझा लगानीमा हामीले पनौतीसम्म कसरी साझालाई चलाउन सकिन्छ भनेर तयारी थालेका छौं,’ प्रमुख न्यौपानेले सुनाए । साँगासम्म साझा सञ्चालन भएकाले अब पनौतीसम्म ल्याउन सकेनौं भने काठमाडौंसँगको दूरी समेत टाढा हुने भएकाले साझालाई जसरी भए पनि पनौतीसम्म ल्याउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *