३ महिनाभित्र तार अन्डरग्राउन्ड निर्देशन
काठमाडौं, २० असार । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई उपत्यकामा अव्यवस्थित रुपमा रहेका केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड गर्न सरकारलाई निर्देशन दिएको छ ।
उपत्यकामा रहेका फोन तथा केबलका तारहरु अव्यवस्थित रुपमा टांगिएका कारण शहर कुरुप बन्दै गएको छ । बाटो बिस्तार भएका कैयन स्थानमा टेलिफोन तथा केबलका तारहरु सडकमा छरपस्ट छन् । साथै बिद्युत प्राधिकरणले थुप्रै ठाउँमा पोलहरु सारेको छैन । जसका कारण बिस्तार भएको सडकसमेत पुर्णरुपमा प्रयोगमा आउन सकेको छैन ।
विकास समितिको छलफलमा बोल्दै समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘३ महिनाभित्र सडकमा अव्यवस्थित रुपमा रहेका फोन तथा केबलका तारहरुका साथै सडकको समेत स्तरोन्नती गर्नको लागि सरकार तथा सडक विभागलाई निर्देशन गरेको छु ।’
मुग्लिन–नारायणगढ सडकलाई तीव्रता
विकास समितिले मुग्लिन–नारायणगढ सडकखण्डमा थप २ महिना रात्रीकालीन समयमा सवारीसाधनको आवागमन रोकेर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ ।
भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप निर्माण हुन नसकेको यो सडकको अहिले निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका कार्यक्रम संयोजक सञ्जय श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘भूकम्पका कारण झन्डै दुई महिना र भारतको अघोषित नाकाबन्दीका कारण ९ महिना अवरुद्ध भएको काम अहिले तिब्र गतिमा अघि बढेको छ, पुलहरु निर्माणको लागि पनि टेण्डरको प्रक्रिया अघि बढाएका छौं ।’
यो सडकको निर्माण सकिएसँगै नारायणगढबाट मुग्लिन ३५ मिनेटमा नै आइपुगिने श्रेष्ठ बताउँछन् । निर्माणको चरणमा रहेकाले अहिले यो सडकखण्डमा यात्रुहरु घन्टौसम्म जाममा फस्नुपर्ने बाध्यता छ । साथै सडक सुचारु भएको अवस्थामा पनि खाल्डाखुल्डी र पहिरोसमेत आउने भएका कारण यो सडकखण्ड अहिले जोखिमपुर्ण बनेको छ । जोखिमपुर्ण बनेकै कारण अहिले सडक बिभागले रातभर सवारी साधनको आवागमन बन्द गरेर निर्माणको काम अघि बढाएको छ ।
मुग्लिन–काठमाडौं सडक पनि अहिले सरकारले ४ लेनको बनाउन काम सुरु गरेको छ । सडक विभागका महानिर्देशक गोपाल प्रसाद सिग्देलले अहिले यो सडकखण्डको डिटेल डिजाइन सकेको बताए । सिग्देलका अनुसार यही सडकखण्डमा पर्ने नागढुङ्गामा बन्ने टनेलको काम पनि अहिले अघि बढिरहेको छ । अहिले यसको नक्साको काम जारी छ ।