निषेधित क्षेत्रमा हर्न बज्न थालेपछि प्रहरी सडकमा
ललितपुर, १९ असार । काठमाडौँ उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरेपनि पुनः राजधानीमा सवारीसाधानहरु चर्को हर्न बजाउन शुरु गरेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारीसाधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत वैशाख १ गतेदेखि राजधानीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर, अहिले यो नियम उल्लंघन गर्नेको संख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले पुनः कडाई गर्न शुरु गरेको हो । यसरी जथाभावी हर्न बजाउनेमा मोटरसाइकल पहिलो नम्बरमा रहेको छ ।
जथाभावी हर्न बजाउनेहरुलाई कारवाही गर्न प्रहरीले सोमबारबाट काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सादा पोशाकका प्रहरीहरु खटाउन शुरु गरेको छ । ललितपुरमा मात्र २ घण्टाको अवधिमा ३८ वटा सवारी कारवाहीमा परेका छन् । लतिलपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार हर्न निषेधित क्षेत्र कडाईका साथ लागु गरिने बताए । हर्न बजाएको पाए पहिलो पटक पाँच सय जरिवाना हुने र दोस्रो पटक कारवाही परे १ हजार रुपैयाँ जरिवाना हुने उनले बताए ।