एमालेसँग साँठगाँठ गर्दै राजपा

भक्तपुर न्यूज

१६ असार २०७४ ४:४१

एमालेसँग साँठगाँठ गर्दै राजपा

काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको फेरी खुलासा भएको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ । आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको खुल्न आएको छ ।

असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्ने राजपा निकट स्रोतले बताएको छ ।  देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ । देउवाले पुनः प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन त परै, दोस्रो स्थानीय तहको निर्वाचनका नाममा तराई–मधेसमा सेना परिचालन गरेको, शान्तिपूर्ण विरोधमा उत्रेका कार्यकर्तालाई गिरफ्तार गरेको र गोली प्रहार गर्नेसम्मका कार्य गरेको आरोप राजपाले सरकारलाई लगाएको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आगामी २१ गते बस्ने अध्यक्षमण्डलको बैठकले वर्तमान सरकारको भविष्यकै बारेमा ठोस निर्णय गर्ने बताएका छन् । निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका एमाले अध्यक्ष केपी शर्मा ओली र राजपा शीर्ष नेताहरूबीच देउवा सरकारको भविष्यकै बारेमा समेत अनौपचारिक गृहकार्य भइरहेको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *