सार्वजनिक बसलाई विशेष लेनको ब्यवस्था
काठमाडौं, १२ असार । सरकारले सार्वजनिक बस सेवा सञ्चालनका लागि रिंगरोड र माइतीघर(सूर्यबिनायक सडकमा छुट्टै लेन तोक्ने तयारी गरेको छ । पहिलो चरणमा चक्रपथ अन्तरगतको कलंकी कोटेश्वर(कलंकी खण्डको विस्तार सकिएपछि ‘र्यापिड बस ट्रान्जिट’ बसको विशेष लेनको ब्यवस्था गर्ने तयारी गरिएको हो ।
माइतीघर(कोटेश्वर(सूर्यबिनायक खण्डमा भने रोड मार्किङ चुस्त गरेर यो किसिमको ब्यवस्था लागू गर्ने तयारी गरिएको छ ।
यो ब्यवस्था लागू भएमा सार्वजनिक बसहरुले गुड्न छुट्टै लेन पाउनेछन् । त्यसमा निजी सवारी साधनहरु गुड्न पाउने छैनन् ।
यस खालको ब्यवस्था गर्नेबारे सरकारले प्राविधिक सम्भाब्यता अध्ययन गरिरहेको छ । यी दुई सडकमा आवतजावत गर्न दुईतर्फी लेनमा सार्वजनिक बस मात्र चल्न पाउने गरी ब्यवस्था गर्ने योजना बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात ब्यवस्था विभाग र सडक विभागले चक्रपथमा बसका लागि छुट्टै लेन तोक्न गृहकार्य गरिरहेका हुन् ।
मन्त्रालयका सचिव धनबहादुर तामाङले पूर्वाधार पुग्ने बाटोमा सार्वजनिक बसका लागि छुट्टै लेन तोक्न सकिए लेन अनुशासन नमान्दा उत्पन्न ट्राफिक समस्या हट्ने बताए । यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले सडक पूर्वाधार विकास गर्दै र्यापिड बस ट्रान्जिट सिस्टम लागू गर्न गृहकार्य भइरहेको बताए ।
