सर्वोच्चको मुख्य रजिस्ट्रारमा सुवेदी
काठमाडौँ, १२ असार । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नहकुल सुवेदी नियुक्त भएका छन् । सुवेदी न्याय प्रशासनको उच्च प्रशासनिक ओहोदामा पुग्ने पहिलो व्यक्ति हुन । सर्वोच्च अदालत ऐन संशोधन गरी अघिल्लो वर्ष भदौमा मात्र सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना गरिएको थियो । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको आइतबारको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्त गरेको हो । सुवेदी हाल न्याय परिषद्को सचिव छन् ।
यसअघि सर्वोच्चमै मुद्दा महाशाखा प्रमुखका रूपमा उनले काम गरेका थिए । बढुवा भएपछि सुवेदीलाई न्याय परिषद् सचिव बनाइएको थियो भने सर्वोच्चमा रजिस्ट्रारको जिम्मेवारी नृपध्वज निरौलालाई दिइएको थियो ।
महान्यायाधिवक्ता एवम् न्याय सेवा आयोगका सदस्य रमणकुमार श्रेष्ठले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय भएको बताए । महान्यायाधिवक्ता श्रेष्ठका अनुसार मुख्य रजिस्ट्रारमा न्याय परिषद् सचिव नहकुल सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ ।
प्रशासन र संसद् सेवामा मुख्य सचिव र महासचिवको व्यवस्था भएको तर न्यायालयको प्रशासनिक प्रमुख रजिस्ट्रार रहँदै आएकोमा समान तह बनाउन पहिलो पटक अदालतमा मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको थियो । मुख्य रजिस्ट्रार प्रशासनको मुख्य सचिव र संसद्को महासचिवसरह हुनेछ । सेवा सुविधा पनि बराबर रहनेछ । यसअघि सर्वोच्चमा रजिस्ट्रार रहेका श्रीकान्त पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि मुख्य रजिस्ट्रार नियुक्तिमा ढिलाइ भएको थियो । पद सिर्जना भएको दस महिनापछि आयोगले मुख्य रजिस्ट्रार नियुक्त गरेको हो ।