विवादित बोधिचित्त फल प्रहरीको नियन्त्रणमा

भक्तपुर न्यूज

८ असार २०७४ ६:५६

विवादित बोधिचित्त फल प्रहरीको नियन्त्रणमा

काभ्रे, ८ असार । काभ्रेको रोशी गाउँपालिकामा एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनले यसलाई आज बैठक बसेर छलफलपछि टुङ्गो लगाइनेछ भने ।
जिल्लाको रोशी गाउँपालिकास्थित नागबेलीमा एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रूख तीन व्यापारीसँग फरक फरक मूल्यमा बेचेपछि फल कस्को हो भन्ने विषयमा विवाद भएको हो । बोधिचित्तको रूख धनी ठकुरानी तामाङले आफ्नो बारीको बोधिचित्तको फल सत्यमान लामा, सुनिल लामा र दवाङजु लामालाई बेचेपछि विवाद भएको बताइएको छ ।
जिल्लाको रोशी गाउँपालिकामा पर्ने यो रूख सबैभन्दा महँगो रूख मानिएको छ। सत्यमान लामाले विगत वर्षदेखि नै आफूले किनेकाले आफूले पाउने दाबी गरेका छन् भने सुनिल लामाले आफूले कागज गरी रु ३४ लाख बुझाएको जिकिर गरेका छन् । बोधिचित्तको मालाको विषयमा विवाद भएपछि प्रहरी नै परिचालन भएको थियो ।
गत वर्ष रु ८० लाखमा दवाङजु लामाले सत्यमान लामालाई बिक्री गरेको पैसा अहिलेसम्म पनि नपाएको गुनासो गर्दै उनले प्रहरीमा शान्तिसुरक्षाका लागि अनुरोध गरेका थिए । दवाङजुले २०७२ साल असार १४ गते करारनामाअनुसार २०७४ साल भदौ मसान्तसम्म बोधिचित्तको फल टिप्न पाउने उल्लेख छ ।  नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामा समूहले रु ५५ लाख ठकुरानी तामाङले लिइसकेको दाबी गर्दै बोधिचित्तको फल आफ्नो हुनुपर्ने जिकिर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *