उपत्यकामा २ लाख बाँडियो स्मार्ट लाइसेन्स
काठमाडौं, ४ असार । यातायात व्यवस्था विभाग बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट करिब २ लाख लाइसेन्स वितरण गरिएको छ ।
विभागसँग अहिले स्मार्टकार्ड प्रिन्ट गर्न ३ वटा मात्रै मेसिन छ । यसमा २ वटा मेसिन बिग्रएको छ । पुरानो प्रविधिको सवारी चालक अनुमतिपत्र विस्थापन गर्न आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रुपान्तरण गर्न स्मार्ट प्रविधि सुरु गरिएको हो ।
५ वर्षभित्र सबै सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने यातायात व्यवस्था विभागको लक्ष्य छ । सरकारले यसै सातादेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ ।
यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानकारी दिए । विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक भट्टराईले बताए ।
विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । सोमबार स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रसास सेक्युरेटी प्रिन्टर्सको टोली पोखरा जाँदैछ । मंगलबारबाट स्मार्ट लाइसेन्स वितरण्का लागि प्रक्रिया थाल्ने गरी काम गरिने भट्टराईले बताए । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरेको छ । सुरुमा छापिएका १ लाख ६० हजार कार्ड सकिएपछि विभागले ४५ हजार कार्ड ल्याएको थियो ।