काठमाडौं महानगरले सडक पखाल्ने जेट मेसिन ल्याउँदै
काठमाडौ, २ असार । काठमाडौं महानगरपालिकाले सडक पखाल्ने जेट मेसिन ल्याउने भएको छ। महानगरको सडक डिभिजन मेकानिकल इन्जिनियर र पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङको विभागीय प्रमुखको टिमले यसको बारेमा अध्ययन गरिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
अध्ययन प्रतिवेदन आइसकेपछि नेपालमा कुन डिजाइनको मेसिन ठिक हुन्छ निक्र्यौल र परीक्षण गरी त्यही अनुसार खरीद प्रक्रिया अघि बढाईने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । यसका लागि अर्थ मन्त्रालयले ९ करोड दिएको र महानगरले पनि करिव ९ करोड लगानी गर्ने उनले जानकारी दिए । एउटा मेसिनको करीव ३ करोड पर्ने महानगरको अनुमान छ ।
अहिले महानगरमा ३ वटा ब्रुमर मेसिन, २ वटा जेट मेसिन र एउटा ट्रि ट्रान्सप्लान्ट आवश्यक रहेको छ। केही समय अगाडि सडक पखाल्न दमकल प्रयोग गरिए पनि त्यसले धेरै पानी खर्च गर्ने र सडक छेउछाउमा धेरै पानी जम्मा हुने भएकोले त्यत्ती प्रभावकारी हुन सकेको थिएन । जेट मेसिन विकसित देशहरुमा निकै प्रयोगमा आइरहेको छ ।