भक्तपुरमा अनुदानको मलमा सहकारीहरुको कालोबजारी

भक्तपुर न्यूज

१ असार २०७४ ११:१३

भक्तपुरमा अनुदानको मलमा सहकारीहरुको कालोबजारी

भक्तपुर १ असार । हरेक बर्ष मलको अभाव खेप्दै आएका भक्तपुरबासीहरु अहिले पनि त्यहि समस्याबाट पिरोलिएका छन् ।
विगत झै यो बर्षपनि भक्तपुरमा मल अभाव देखिएको छ । खेती गर्ने समय असार महिना भित्रिएसँगै भक्तपुरमा मलको अभाव सृजना भएको छ । अहिले बजारमा कालोबजारी समेत मौलाउने गरेको छ । एकातर्फ किसानले मल नपाउने अर्को तर्फ सोही मलको कालो बजारी बढ्ने क्रम सुरु भईसकेको छ । सरकारले अनुदानमा उपलब्ध गराएको मल समेत कालोबजारीको पहुँचमा पुगेपछि केहीका लागि राम्रै आम्दानीको माध्यम समेत बनेको छ ।
भक्तपुरमा मल बितरणलाई प्रभाकारी बनाउँन कृषि कार्यालयले मल बितरणको जिम्मा बिभिन्न सहकारीलाई दिएको छ । तर ती सहकारीको कार्यालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन् । अनुगमनको अभावमा मल ढुवानीकर्ताले मनपरी गरिरहेका छन् भने ढुवानीमा ढिलासुस्ती बढ्दो छ । कतिपय सहकारीले अनुदानको मल कालो बजारीका रुपमा बिक्रि गरेको पाइएको छ ।
कृषि कार्यालय भक्तपुर र जिल्ला प्रशासन कार्यालय गरेको अनुगमनका क्रममा भेटिएको तथ्याकलाई नियाल्ने हो भने सहजै बुझ्न सकिन्छ भक्तपरमा केही सहकारी नै मलको कालो बजारीमा सलग्न रहेका छन् ।
सृजना नगर बचत तथा ऋण सहकारी संस्थाले कषि कार्यालयबाट अनुदानमा लिएको मल अर्को निजि संस्था मार्फत बिक्रि बितरण गरेको अनुगमनका क्रममा भेटिएको छ । कृषकहरुले ९ सय पचास रुपैंयामा पाउने अनुदानको युरिया मल ब्यापारीहरुले ११ सयमा बिक्रि गरिएको भेटेपछि कार्यालयको अनुगमन टोलीले उक्त पसललाई शिलबन्दी गरेको छ ।
त्यस्तै डिएपी मलमा पनि ब्यापक मात्रामा कालो बजार भएको अनुगमनका क्रममा फेला परेको छ । कमलबिनायककै राधाकृष्ण स्टोरमा कृर्षकका लागि उपलब्ध गराईएको अनुदानको मल प्रति बोरा ११ सयमा बिक्रि गरेको पाएपछि उक्त स्टोर समेत शिलबन्दी गरिएको छ । उक्त स्टोरबाट खाध्यान्नसँगै बषौदेखि मल बितरण गर्दै आएको तथ्य खुलेको छ ।
सो स्टोरले बिभिन्न सहकारीबाट अनुदानका मल खरिद गरि महँगो मूल्यमा बिक्रि गर्ने गरेको समेत रहस्य खुलेको अनुगमनमा गएका पदाधिकारीले जानकारी दिए ।
गोदामा रहेको मौजादको मल हेर्दा सरकारले उपलब्ध गराएको अनुदानको मल भेटिएको र सो सँगै अन्य स्थानबाट समेत खरिद गरि मौजाद गरिएको भेटिएको छ । यसरी भक्तपुरमा अनुदानको मल सहकारी मार्फत बितरण गर्ने भनिए पनि केही बाहेकका अन्य सहकारी मलको कालो बजारीमा संलग्न रहेका छन् ।
सहकारीबाट मल बितरण प्रभावकारी र किसानका लागि सहज रहने भएता पनि केही सहकारीका पदाधिकारीहरुको मिलेमतो र आर्थिक लाभ लिने उद्देश्यका साथ किसानहरुले सस्तो मूल्यमा मल पाउन सकेका छैनन् भने सहकारी समेत बदनाम हुँदै छन् ।
यता जिल्ला कृषि कार्यालय भक्तपुरले सहकारी बाहेक अन्यले भक्तपुरमा मल बिक्रि गर्न नपाउने भएपनि कसरी बिभिन्न पसलहरुबाट यसरी बिक्रि बितरण भइ रहेको छ यसको खोजीमा लागेका बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *