ट्रम्पकी श्रीमती मेलानिया पाँच महिनापछि ह्वाइट हाउस पुगिन्
एजेन्सी, ३० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया पाँच महिनापछि ह्वाइट हाउस पुगेकी छन् । उनी आफ्ना छोरा ब्यारनकासाथ पाँच महिनापछि ह्वाइट हाउस पुगेकी हुन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको करिव पाँच महिनापछि मेलानिया राष्ट्रपति निवासमा बस्नलाई ह्वाइट हाउस पुगेकी हुन् । पाँच महिना ढिला गरी ह्वाइट हाउस पुग्नुको कारण भने उनका छोरा हुन् । ११ वर्षीय छोरा ब्यारनको स्कुलको पढाइ पूरा गर्न मेलानिया क्युयोर्कमा बस्दै आएकी थिइन् । मेलानिया ट्रम्प पछिल्ला वर्षमा यस्ती पहिलो महिला भएकी छन्, जो आफ्ना श्रीमानसँग तत्काल ह्वाइट हाउस जान पाइनन् ।
ट्रम्पकी छोरी इवांकाले एक टेलिभिजन अन्तर्वातामा आफ्ना बुवाको जसरी विरोध भइरहेको छ, त्यो आफूले कल्पनामा पनि नसोचेको बताएकी छन् । फक्स एण्ड मर्निङ टेलिभिजनलाई दिएको अन्तर्वातामा इवांकाले वहालवाला राष्ट्रपतिको यसरी विरोध हुँदा आफू अचम्मित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।