भक्तपुरका ध्वस्त सम्पदालाई टेको मुक्त बनाउने प्रयास तीब्र
भक्तपुर,३० जेठ । विश्वसम्पदा सूचीमै रहेको भक्तपुरको दरबार स्क्वायरस्थित पचपन्नझ्याले दरबारसँगै जोडिएको राष्ट्रिय कला सङ्ग्रहालय लगायतका कतिपय एतिहासिक तथा पुरातातिक संरचनाहरु अझै टेकोका भरमा अडिएका छन् भने केही संरचनाको मर्मत तथा पुर्ननिर्माण चलिरहेको छ ।
भूकम्पले जीर्ण विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रसिद्ध सम्पदालाई चारैतिर टेको दिएर अड्याइएको छ । भूकम्पपछि पूर्ण रुपमा भत्किन नसकेका यहाँका सम्पदालाई पुनःनिर्माण तथा जीर्णोद्धार गर्नेतर्फ सम्बन्धीत निकायले गतिलो चासो देखाएको छैन् ।
भूकम्पको धक्काले कमजोर बनाएका सम्पदालाई ढल्नबाट जोगाउन आपत्कालीन टेको लगाइएको भक्तपुर नगरपालिकाले जनाएको छ । सङ्ग्रहालय उत्तर र दक्षिणतर्फ ढल्किएर धाँजा फाटेपछि टेको दिइएकाले सङ्ग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकलाई अहिलेपनि रोक लगाइएको पुरातत्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए ।
दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाका भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र मयूर झ्यालको संरक्षण गर्नसमेत टेको लगाईएको छ । दरबार क्षेत्र परिसरकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमाध्वाका, च्याम्हासिंह ढोकालगायत सम्पदा पूर्ण रूपमा भत्किएका छन् । हनुमानघाटस्थित १२ मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताका घर अर्थात् द्योछें, सत्तल, पाटी, पुजारी मठ पनि भत्किएका छन् ।
भूकम्पकै कारण वरिपरिका मन्दिर पूर्ण रुपमा भत्किए पनि विश्वसम्पदा सूचीमै रहेको चाँगुनारायण मन्दिरलाई चारैतिर टेको लगाएको भएपनि अहिले उक्त मन्दिरको मर्मत कार्य शुरु गरिएको छ । मन्दिरको चारै सुरको गारो छुट्टिएर बाहिर निस्किएपछि मन्दिरको वरिपरि नै टेको लगाइएको थियोे । मन्दिरको पश्चिमपट्टि माथिको झ्याल निस्किएको थियो ।
मन्दिरको दायाँतर्फको ठूलो घन्टा ढलेको थियो । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले संरक्षण गर्न शुरुमा मन्दिरमा टेको लगाइए पनि अहिले मर्मत कार्य चलिरहेको बताएका छन् । पुरातत्व विभाग भक्तपुरले भत्किएका मन्दिर एवम् सम्पदाको विवरण सङ्कलन गर्न थालेपनि तदारुकता दिएको छैन् । यसबाहेक पुरातत्व विभागअन्तर्गतको भक्तपुर दरबार हेरचाह कार्यालयले शिलुमहादेब, सिद्धिलक्ष्मी मन्दिर बहुवर्षीय योजनामा अन्तर्गत निर्माण सुरु गरेको छ । तवः सत्तलको निर्माण आधा पूरा भएको छ ।
चाँगुनारायणको मन्दिरका साथै दक्षिण वाराही, अनन्त लिङ्गेश्वरको मन्दिर, नील बाराहीको मन्दिरको सत्तल, नगदेशमा रहेको सत्तल र मन्दिर महेश्वरी घाटको पीठ र सत्तल, कला सङ्ग्रहालय निर्माणको काम भइरहेको कार्यालयका प्रमुख मङ्गला प्रधानले जानकारी दिएकी छन् । कार्यालयमार्फत नै बद्रीनारायण, रामेश्वरको मन्दिर, गोलमणिमा रहेको गणेश मन्दिर, चोडे गणेश मन्दिर र बोडेको महालक्ष्मीको मन्दिर संरक्षण भएको प्रधानले बताईन् । भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदा निर्माण दुई किसिमबाट गर्दै आएको छ । सामान्य प्रकृतिका मन्दिरका लागि उपभोक्ता समिति बनाएर पुनः निर्माण गरिरहेको भक्तपुर नगरपालिका सम्पदा शाखाले जनाएको छ ।