भक्तपुरका अधिकांश सहकारी मापदण्डविपरित
भक्तपुर २५ जेठ । भक्तपुर जिल्लामा रहेका सहकारी संस्थामध्ये अधिकांश संस्था मापदण्डविपरित सञ्चालन भैरहेका छन् । सहकारी ऐन अनुसार जिल्ला सहकारी डिभिजन कार्यालयमा दर्ता भएपनि यी सहकारीले उद्देश्य अनुरुप काम गर्न नसकेको पाईएको छ ।
अधिकांश सहकारीले समयमे लेखापरिक्षण समेत गदैंनन् भने कतिपयले बार्षिक साधारण सभा गरी प्रतिवेदन समेत कार्यालयमा नपठाउने गरेको सहकारी डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
सहकारी सहकारी ऐन र नियमावली अनुसार सेवाग्राहीबाट ६ प्रतिशत मात्रै व्याजदर लिन पाउँने प्रावधान रहेको छ । तर भक्तपुरका सहकारी १९ प्रतिशतसम्म व्याज लिदैं आएका छन् । यो सहकारीको मनपरीको हद भएको छ । जिल्ला सहकारी डिभिजन कार्यालयका अनुसार अहिलेसम्म कार्यालयमा ६ सय ६१ वटा विभिन्न प्रकृत्तिका सहकारी दर्ता भएका छन् । दर्ता भएकामध्ये केही निस्क्रिय रहेको भएपनि कार्यालयले कामै नगर्ने यस्ता निस्क्रिय संस्थालाई समेत कारवाही गर्न सकेको छैन् ।
कार्यालयले मापदण्डमा आएर काम गर्नका लागि जिल्लाका सबै सहकारीलाई निर्देशन दिएपनि अधिकांशले कार्यालयको निर्देशन समेत अटेर गरिरहेको डिभिजन प्रमुख प्रेमकुमार श्रेष्ठले बताएका छन् । जिल्लामा कति संस्थाले के कस्तो काम गरिरहेका छन भन्ने एकिन विवरण र सहकारीको तथ्याकं समेत कार्यालयसँग छैन् ।
कार्यालयले सहकारीको समय समयमा अनुगमन समेत गर्न सकेको छैन् । डिभिजनमा आबश्यक जनशक्तिको अभावमा कारण तोकिएकै समयमा जिल्लाभरका सहकारी संस्थामा अनुगमन गर्न नसकिएको डिभिजन प्रमुख श्रेष्ठले स्वीकारेका छन् । सहरकारीले ऐन विपरित मनपरी रुपमा उठाउँदै आएको ब्याज तत्काल रोक्नुपर्ने सेवाग्राहीहरु बताउँछन् ।