थानीजीको पहिलो इनिङ’ भित्रको जुनून’
विपुल पोख्रेल ।
प्रचण्ड नेतृत्वको माओवादी सरकारमा सहकारी तथा गरिवी निवारण मन्त्रीको रुपमा नेपाली कांग्रेसको तर्फवाट सहभागी हुने पक्कापक्की भएपछि मैले कांग्रेस नेता हृदयराम थानीलाई फोन गरेर बधाई दिएँ । मेरो बधाई सहर्ष ग्रहण गर्दै उनले भनेका थिए, ‘यस्तो मन्त्रालय पर्यो, केही गर्न सकिने हो कि होइन, भुतपूर्व मन्त्री मात्र भइन्छ कि भन्ने चिन्ता पनि लागेको छ, के गरौ भन्नु त ?’ उनले मन्त्रालय स्वीकार गरिसकेका थिए, तर मसँगको संवादमा यति ‘वात राखेका’ थिए । मैले उनलाई भने,‘दाई तपाईं जत्तिको मान्छेलाई जुनकुनै मन्त्रालय दिंदा पनि केही गरेर देखाइदिनु हुने छ, त्यो प्रक्रियामा हामी सहयोग गर्न तयार हुने छौ पनि ।’
थानीजीको सन्दर्भमा मलाई एउटा के बिश्वास छ भने, उनी हरेक काम असलनियत राखेर गर्छन्, र यसैकारण आफ्नो कार्य सम्पन्न गर्ने सवालमा सहयोग पाउँछन् । सहयोग प्राप्त गर्न सक्नेले आँटेको कामफत्ते गर्न सफल हुन्छ । ०५६ सालको निर्वाचनबाट बनेको संसदमा उनी पनि थिए । त्यो बेला उनले राज्य व्यबस्था समितिको सभापतिको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारीमा रहदाँ उनले सेना सम्बन्धि कानून बनाएका थिए । उनको त्यतिबेलाको भूमिकाबाट लोेकतन्त्रका पिता गिरिजाप्रसाद कोइराला पनि खुशी देखिन्थे ।
तिनै हृदयराम थानीले यो पटक पनि मन्त्रालयमा नयाँ काम गर्ने योजना बनाए । सहकारी ऐनको परिमार्जन र गरिवी निवारण मन्त्रालयलाई गरिवका लागि केही गर्न सक्ने मन्त्रालयका रुपमा विकास गर्ने चाहनाका साथ उनी दत्तचित्त देखिन्थे । यो वीचमा भएका भेटहरुमा उनले यो अभियानमा साथ दिन आग्रह गरिरहेका पनि थिए ।
सहकारी सम्बन्धि कानुनको विषयलाई अन्तिम चरणसम्म पुर्याउन उनी सफलभएका छन् भने गरिवी निवारण मन्त्रालयलाई गरिवका लागि योजना बनाउन सक्ने सक्षम मन्त्रालयमा रुपान्तरण गर्न सकेका छन् । नीतिगत प्रशासकीय ‘ड्राइभ’ गर्ने सन्दर्भमा थानीको यो सफलता अद्भूत हो । अब यो मन्त्रालय आकर्षक बनेको छ । केही दिनअघिको क्याविनेट बैठकले उनको लगातारको लडाईमा साथ दिंदै महत्वपूर्ण निर्णयहरु भएका छन् ।
थानीले मन्त्रीपद् सम्हाले देखि नै मन्त्रालयलाई गरिवका पक्षमा काम गर्न सक्ने बनाउन लागि परे । त्यसका लागि स्रोतको व्यबस्थापन गर्न उनले गरिवीनिवारण कोष, युवा स्वरोजगार कोष र गरिवसँग बिश्वेश्वर कार्यक्रमलाई गरिवी निवारण मन्त्रालय अन्तर्गत राख्ने अभियान थाले । यो अभियानले उनको मन्त्रित्वकालको पहिलो इनिङ’ को समाप्तिको संघारमा अर्थ प्राप्त गरेको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको गरिवी निवारण कोष, अर्थ मन्त्रालय अन्तर्गतको युवा स्वरोजगार कोष र स्थानीय विकास मन्त्रालय अन्तर्गतको गरिवसँग बिश्वेश्वर कार्यक्रमलाई गरिबी निवारण मन्त्रालय अन्तर्गत ल्याइएको छ । अब बल्ल सो मन्त्रालय सार्थक बन्न पुगेको छ । गरिवहरुका लागि केही गर्न सक्ने भएको छ । थानीजीको यो पहलकदमीपछि अब सो मन्त्रालयमा काम गर्ने उत्साहका साथमा कोही पनि मन्त्री आएमा उसले राम्रो काम गरेर देखाउने अवसर प्राप्त गर्ने छ ।
यहाँ उल्लेख्य एउटा अर्को कुरा के छ भने, गरिवी निवारण मन्त्रालयले मुलुकका २५ जिल्लामा गरिवहरुको पहिचान गरी परिचयपत्र दिने कार्य शुरु गरेको थियो । यस क्रममा २५ जिल्लामा ४ लाखको हाराहारीमा गरिवहरु प्हिचान भएका छन् । उनीहरुलाई परिचयपत्र दिने काम अर्को महत्वपूर्ण सन्दर्भ थियो । यसमा थानीजीले तर्क गरे, गरिवलाई परिचयपत्र मात्र दिएर के हुन्छ ? परिचयपत्रसँगै उनीहरुका लागि केही सुविधा दिनुपर्ने व्यबस्था गर्न म प्रयास गर्छु ।’ हुन पनि गरिवको परिचयपत्र मात्र बाडेर केही हुने हैन, उनीहरुलाई खाद्यान्नमा सहुलियत, राज्यप्रदत्त सेवा सुबिधामा प्राथमिकता, क्षमता अभिबृद्धिमा प्राथमिकता, रोजगार र स्वरोजगारमा उनीहरुको पहुँच स्थापित गर्ने कुराको सुनिश्चितता जस्ता सवालहरुमा ध्यान दिन सकेन भने परिचयपत्र बाडेर मात्र केही हुने वाला छैन । यो मान्यतामा उभिएर उनले मन्त्रालयमा स्रोत ल्याउन पहल गरेर सफलता हासिल गरे, अनी गरिवहरुलाई अब परिचयपत्रसँगै सहुलियतको प्याकेज दिन सक्ने अबस्थामा मन्त्रालयलाई उभ्याए ।
खासगरी राजनीतिकर्मीहरुमा एउटा समस्या देखिन्छ कि, मन्त्री हुने रहर र प्रयास उनीहरुमा सधै देखिन्छ । तर, कुन मन्त्री भएपछि के गर्नेभन्ने स्पष्ट सोंचको अभाव राजनीतिकर्मीहरुमा देखिन्छ । यो कुरामा स्पष्ट भएमा जुनसुकै मन्त्रालयको जिम्मा पाएमा पनि केही गर्न सकिदो रहेछ भन्ने कुरा थानीजीको यो प्रयासले प्रमाणित गरेको छ । यो पटक थानीजीको संकल्प र उनको तत्परतालाई नजिकबाट नियाली रहेका कारण मैले उनको सन्दर्भ उल्लेख गरेको हुँ । उनको सरकारको नेतृत्व गरेका प्रचण्डले राजिनामा दिइसकेका छन् । काम चलाउ सरकारको मन्त्रीका रुपमा थानी रहेका छन्, तर उनले सहकारी सम्बन्धी ऐनलाई पनि अन्तिम रुप दिएर क्याबिनेटवाट पास गराउने प्रयासलाई अहिले पनि कायम राखेका छन् ।
राजनीतिकर्मीले कुनै पनि बेलामा महत्वपूर्ण अवसरहरु पाउन सक्छन् । यो स्वाभाविक कुरा हो । तर, त्यो अवसरको समग्र सदूपयोग गर्दै जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभुति दिलाउने क्षमता कसरी प्रदर्शित गर्ने भन्ने चुनौति उनीहरुका सामुन्ने सधै उपस्थित रहिरहन्छ । यसैकारण राजनीतिशास्त्रका बिद्वानहरुले राजनीतिलाई कला र बिज्ञान दुबैको संगम भनेर व्याख्या गर्ने गर्दछन् ।
नेपाली राजनीतिमा कलापक्ष अर्थात राजनीतिकर्मीले विशिष्ट क्षमता प्रदर्शन गर्ने पक्ष कमजोर छ । यो नेपाली राजनीतिको चरित्र नै हो । मैले अवसर पाए भने यो काम गर्छु भन्ने संकल्प गर्ने क्रमको शुरुवात भने बल्ल हुन थालेको छ । यसैक्रमको संकेत हो थानीजी अनी यो सरकारका अन्य मन्त्रीहरुको कार्य । नेपाली राजनीतिमा कमजोर मानिने कलापक्षको बेजोड प्रदर्शनीको क्रमले तिब्रता प्राप्त गर्न थाल्यो भने मात्र जनताले राहत वा परिवर्तनको अनुभूति गर्ने छन् र लोकतन्त्रको लाभ पाएको ठान्ने छन् ।
अन्त्यमा, निश्चित जुनून’ लिएर मन्त्री बनेका थानीजी जुनून पुरा गर्न सफल देखिएका छन् । उनको कार्यकालको अन्तिम क्षणमा उनले प्राप्त गरेको सफलताले यो मन्त्रालयको आकर्षण बढाएको छ भने, अब बन्ने मन्त्रीलाई गरिवी निवारणका सन्दर्भमा महत्वपूर्ण कार्य गरेर इतिहास रच्ने परिस्थिति निर्माण भएको छ । थानीको फेरि पनि निरन्तरता भयो र उनले दोस्रो इनिङ’ समाल्ने मौका पाएछन् भने उनको उत्साहित मस्तिष्कले नयाँ र प्रभावकारी योजना सिर्जना गर्ने विश्वास गर्न सकिन्छ । जुनून पुरा गर्न थानीजीलाई हार्दिक बधाई ।
खबरइरा अनलाईनबाट