सडकमा ट्राफिक प्रहरीको दादागीरी
भक्तपुर, १८ जेठ । केही दिन यता राजधानी काठमाडौ लगायत भक्तपुरको ६ लेन सडकमा ट्राफिक प्रहरीको दादागीरी बढेको छ । सरकारले जेब्रा क्रसिङबाटै बाटो काट्ने नियम ल्याएको सकारात्मक भएपनि पुर्वसूचनाबीनै प्रहरीले एक्कासी कारवाही थालेपछि नागरिक अप्ठारोमा परिरहेका छन् । नियमविपरीत बाटो काट्नेलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ ।
तर सर्वसाधारणले नियम लागू गर्नु सकारात्मक भएपनि भक्तपुरका सडकमा पर्याप्त फुटपाथ नभएको, जेब्रा क्रसिङ र ओभरहेड ब्रिज पनि नभएकोलगायतका गुनासो गर्दै पर्याप्त तयारीबिनै प्रहरीले धराप थाप्ने काम गरेको आरोप लगाएका छन् ।
यस्तै पर्याप्त तयारीबिनै प्रहरीले नियम लागू गरेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको छ ।
जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने तथा जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषण गरेअनुरुप मंगलबारदेखि कारबाही थालिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङमार लामाले बताए । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको प्रहरीको भनाइ छ ।