गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो राष्ट्रिय कार्यभार भएको बताएका छन् । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा टुँडिखेलमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसलेसबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लेखित कार्यभार पुरा गर्न थप जिम्मेवार र संकल्पवद्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
‘मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको छ । भूकम्पको पूनर्निर्माणको क्षेत्रमा पीडितहरुलाई प्रदान गरिएको अनुदानमा वृद्धि मात्रै गरिएको छैन, नीजि आवास निर्माणको कामले पनि गति लिएको छ ।
देशको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा छ, ७।५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरुमा हासिल गरिएको प्रगति, लोडसेडिङको अन्त्य र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीहरुको हितका निम्ति गरिएको राजनीतिक, कुटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको छ ।’ प्रधानमन्त्रीको सम्बोधनमा छ, उल्लेखित उपलब्धिहरुलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो राष्ट्रिय कार्यभार हो । गणतन्त्र दिवसले हामी सबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लेखित कार्यभार पुरा गर्न थप जिम्मेवार र संकल्पवद्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधान बमोजिम विभिन्न कानूनहरुको निर्माण गर्ने तथा भइरहेका कानूनहरुमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताएका छन् ।
उनले सरकारले ४० भन्दा बढी कानूनहरु तर्जुमा गरिसकेको छ भने ४५ वटा विधेयक व्यवस्थापिका–संसदमा विचाराधीन रहेको जानकारी दिदै यसबाट स्थानीय तह, प्रदेश तथा सङ्घीय व्यवस्थापिकाको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको लागि महत्वपूर्ण आधारशीला निर्माण भई संविधानले प्रत्याभूत गरेका उपलब्धीहरु संस्थागत हुने आफ्नो विश्वास रहेको बताए । प्रधानमन्त्री प्रचण्डले कानूनी, प्रशासनिक पूर्वाधारको उपयोग गर्दै गणतन्त्रलाई संस्थागत गरी आम जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु आफुहरुको आधारभूत कार्यभार भएको पनि बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन नसकेको बताए । ‘जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वं दिगो र संस्थागत हुन पनि सक्दैन ।’ उनको सम्बोधनमा छ, ‘पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थीरताको ढोका मात्रै खुलेको छैन, आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रा समेत प्रारम्भ गर्नेछ ।
अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि तल्लो तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्नेछन्, यसले नेपालको राजनीतिक स्थीरता र विकासको क्षेत्रमा छलाङ मार्नेछ भन्ने मेरो गहिरो विश्वास रहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले ७ माघ २०७४ भित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने बताएका छन् ।