भक्तपुरका मेयर प्रजापतिद्धारा खानेपानीमा चासो
भक्तपुर १० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भक्तपुर नगरको खानेपानी समस्या र वितरण सम्बन्धमा बुझ्न काठमा उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाका प्रमुख सुरेन्द्र हिमालयलाई भनपा कार्यालयमा बोलाई भक्तपुर नगरमा खानेपानीको गुणस्तर र वितरणबारे चासो व्यक्त गरेका छन् । ।
भेटमा प्रमुख प्रजापतिले हाल भक्तपुर नगरमा वितरण भइरहेको खानेपानी धमिलो र पिउन योग्य नभएकोले सफा पानी वितरण गर्नमा ध्यानाकर्षण गराए । नगरका अधिकांश स्थानमा हप्ताको एक दिनमा मात्र खानेपानी वितरण भइरहेको सन्दर्भमा खानेपानीका मुहानहरु बढाउनुपर्ने बताउँदै उनले पाइप फुटेर पानी चुहिने समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘खानेपानी वितरणमा लार्पावाही जनताको जीवनसँग खेलवाड गर्नु हुन्छ । त्यसकारण गम्भीरताका साथ काम गर्न जरुरी छ ।’, प्रजापतिले भने ।
काउखालिका हिमालयले भक्तपुर नपासँग समन्वय गरी जनतालाई समस्या भएका ठाउँ पहिचान गरी यथाशक्य चाँडो सन्तुलित खानेपानी वितरण गर्नमा ध्यान दिने वचन व्यक्त गरे । भेटमा नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु उकेश कवां र रवीन्द्र ज्याख्व, काउखालिका चेतबहादुर ऐर र सुदर्शन खत्रीको उपस्थिति थियो । बैठकपश्चात भक्तपुर नपाका पदाधिकारीहरु जेठ १० गते खानेपानी वितरण र स्रोतको अनुगमन गर्न जाने निर्णय भएको छ ।